सडक मर्मतको माग गर्दै टेम्पु चालकद्वारा कलैया-मलाही सडक अवरुद्ध

साझेदारी दैनिक
352 पाठक संख्या

कलैया । बाराको कलैया–मलाही १६ किलोमिटर सडकखण्ड मर्मत गर्न माग गर्दै सडक अवरुद्ध गर्दै आन्दोलन सुरु भएको छ।

नेपाल स्वतन्त्र अटो चालक मजदुर युनियन संघले बिहीबारदेखि अनिश्चितकालीन सडक बन्द गरेका छन्। विहान आठ बजेदेखि पूर्णरुपमा सडक आवागमन रोकिएको संघले जानकारी दिएको छ।

कलैया–गञ्जभवानीपुरबीच पसाहा खोलाको पुल नजिक करिब डेढ सय टेम्पु चालकले आफ्ना सवारीसाधन सडकमै रोकेका छन्।

यसले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।सडकभरि रहेका खाल्डा–खुल्डी, जोखिमपूर्ण यात्रा र महिनौँसम्म मर्मत नहुँदा चालकहरू आक्रोशित बनेको संघका अध्यक्ष सफिक अन्सारीले जानकारी दिए।

सडक एकनासको बनाउने, तत्काल कालोपत्र गर्ने लगायतका माग उनीहरुको छ। बिग्रिएको सडकका कारण १५ हजार रुपैयाँसम्म मर्मत–सम्भारमै खर्चिनुपर्ने बाध्यता रहेको टेम्पो चालकहरु बताउँछन्।

यसअघि प्रमुख जिल्ला अधिकारीमार्फत सडक मर्मतको मागसहित ज्ञापनपत्र बुझाइएको हो। प्रभावकारी कदम नचालिएको भन्दै चालकहरूले बाध्य भएर सडक बन्द गर्नु परेको आन्दोलनरत एक चालकले बताए ।

वैकल्पिक मार्ग नहुँदा स्थानीय बासिन्दा,विद्यार्थी तथा दैनिक यात्रु प्रभावित भएका छन्। विद्यालय जाने विद्यार्थी, अस्पताल जानुपर्ने बिरामी तथा दैनिक कामकाजमा निर्भर नागरिकहरूलाई समस्या बढेको छ।

ठोस मर्मतको आश्वासन नआएसम्म आन्दोलन जारी रहने अडान टेम्पु चालकहरूको छ। कलैया–मलाही सडक वर्षौँदेखि जीर्ण रहे पनि स्थानीय तहदेखि जनप्रतिनिधिसम्मको यस्मा ध्यान नपुगेको टेम्पु चालकहरुले बताएका छन्।

Leave a review

This will close in 0 seconds