जीतपुर । बाराको जीतपुरस्थित ६ लेन राजमार्ग आसपास फैलिएको अव्यवस्थित फुटपाथ व्यापार अन्त्य गर्ने तयारी तीव्र बनाइएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले शनिबारसम्मको स्पष्ट समयसीमा दिँदै सडक क्षेत्र खाली गर्न अन्तिम चेतावनी जारी गरेको हो।
नगरस्तरीय सर्वपक्षीय छलफलपछि नगर प्रमुख राजन पौडेल ले अब अतिक्रमणविरुद्ध सम्झौता नगर्ने संकेत दिएका छन्। “सडक सर्वसाधारणको हो, कसैको निजी व्यापार गर्ने ठाउँ होइन,” भन्ने सन्देशसहित यसपटक कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ।
लामो समयदेखि दोहोरिँदै आएको फुटपाथ अतिक्रमणले सवारी आवागमन अस्तव्यस्त बनाउनुका साथै पैदलयात्रीको सुरक्षामा समेत गम्भीर चुनौती थप्दै आएको थियो। ट्राफिक जाम, दुर्घटनाको जोखिम र दैनिक जीवनमा पर्ने असरका कारण स्थानीय स्तरमा असन्तुष्टि बढ्दै गएको थियो।
उपमहानगरपालिकाले तोकिएको समयभित्र स्वेच्छाले संरचना हटाउन आग्रह गर्दै अटेर गरे आइतबारदेखि बल प्रयोग गरी हटाइने स्पष्ट पारेको छ। साथै, नियम उल्लंघन गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याइने चेतावनी समेत दिइएको छ।
यद्यपि, साना तथा स्वरोजगार व्यवसायीलाई पूर्ण रूपमा विस्थापित नगर्ने नीति लिँदै वैकल्पिक व्यवस्थापनको तयारीसमेत अघि बढाइएको छ। व्यवस्थित बजार क्षेत्र निर्माणमार्फत दीर्घकालीन समाधान खोजिने उपमहानगरपालिकाको भनाइ छ।
यस निर्णयप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार सडक अतिक्रमण हटेपछि यातायात व्यवस्थापन सहज हुने र शहरको स्वरूप थप व्यवस्थित बन्ने अपेक्षा गरिएको छ। सुरक्षा तथा कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय बारासँग समन्वय भइसकेको प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाले जानकारी दिएका छन्।

