एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

रासस
79 पाठक संख्या

सिरहा । यहाँको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका बालकको अवस्था हालसम्म अज्ञात छ ।

लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली घर भएका भोगेन्द्र यादवका छोरा अभियांशु मामाघरमा रहेकै बेला शनिबार बिहान करिब २ बजेदेखि बेपत्ता भएका थिए । घरबाट करिब ५० मिटर उत्तरतर्फ रहेको पोखरीमा बालक डुबेको हुनसक्ने आशंकामा सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजङ्ग थापाले गोताखोर टोलीले पोखरीको गहिराइसम्म पुगेर खोजी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्दिवासबाट आएको गोताखोरसहितको विशेष टोलीले पोखरीमा खोजी जारी राखेको छ । हालसम्म बालकको कुनै सुराक फेला परेको छैन ।”

बरियारपट्टी गाउँपालिका–४ का वडाध्यक्ष नवीन यादवले सुरुमा स्थानीयस्तरबाटै खोजी गरिए पनि पत्ता नलागेपछि हाल सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो ।

Leave a review

This will close in 0 seconds