Sajhedari Daily
Latest News from Nepal

स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दऊ

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर झण्डै ९ महिना बितिसक्दा पनि उनीहरुले जोखिम भत्ता पाएका छैनन ।

यो समस्या देशभरी नै छ । बाराको एक मात्र जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पतालका कर्मचरी तथा स्वास्थ्यकर्मीहरुले पनि कोरोना भाईरस महामारीमा खटिए वापत पाउनु पर्ने जोखिम भत्ता पाएका छैनन् ।

उनीहरुले जोखिम भत्ता माग गर्दै मंगलवारदेखी आन्दोलन स्वरुप अस्पतालमा धर्नामा नै बसेका छन । पटक पटक अस्पताल मेसुलाई भत्ताको लागि लिखित तथा मौखिक जानकारी गराउदा पनि सुनुवाई नहुदा आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन ।

कोरोना भाइरसको उपचार तथा रोकथाममा खटिने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई शत प्रतिशतसम्म प्रोत्साहन गर्ने ‘कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश जारी गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त आदेश मन्त्रिपरिषदले पास गरेको थियो । सरकारले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।

कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेका थियो ।
सरकारले दिने भनेको कोरोना जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मीहरु निराश बन्न पुगेका छन । ज्यान नै जोखिममा पारेर कोरोना महामारीको उपचारमा खटिएको स्वास्थ्यकर्मीहरुले सो वापतको जोखिम भत्ता नपाउनदा मर्कामा परेका छन ।

कोरोना महामारीमा जोखिम भत्ता पाउने आशाका कारण कतिपय स्वास्थ्यकर्मीहरु उक्त सेवामा लागेकाहरुले अहिलेसम्म पनि उनिहरुले जोखित भत्ता नपाएपछि आन्दोलनमै उत्रिन वाध्य भएका हुन ।

तर्सथ तत्काल सम्बन्धीत निकायले चासोको रुपमा लिएर कलैया अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन आवश्यक छ ।