राष्ट्रिय परिचयपत्र बनाउनेहरूको पर्सामा भीड, नयाँ व्यवस्था लागू

साझेदारी दैनिक
265 पाठक संख्या

वीरगञ्ज : पर्सा जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्ने सेवाग्राहीको भीड बढेपछि व्यवस्थित गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ व्यवस्था लागू गरेको छ।

नेपाल सरकारले सबै प्रकारका सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै यस्तो भिड बढेको हो। जिल्ला प्रशासन कार्यालय पर्सामा ६ वटा डेस्क, इलाका प्रशासन कार्यालय सुपौलीमा १ डेस्क र पोखरिया नगरपालिकामा २ डेस्क मार्फत दैनिक ३५०–४०० टोकन जारी गरी परिचयपत्रको विवरण प्रविष्ट गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

कार्तिक २८ गतेसम्मका लागि टोकन वितरण भइसकेको छ । यसअघि पालिकाहरूका लागि तोकिएको दिनमा सेवा दिने व्यवस्था खारेज गरिएको छ। (जस्तै, वीरगञ्ज महानगरपालिकाका लागि बिहीबार र शुक्रवार) खारेज गरिएको हो। अब टोकन लिएका सेवाग्राहीले तोकिएको दिनमा सेवा प्राप्त गर्नेछन् ।

असोज २५ गते शनिवार सार्वजनिक बिदाको दिनमा समेत राष्ट्रिय परिचयपत्रको सेवा सुचारु हुने व्यवस्था गरिएको छ । साथै, असोज २६ गतेदेखि दैनिक बिहान ७ः३० देखि अपराह्न ५ः०० बजेसम्म विवरण प्रविष्ट गर्ने जनाइएको हो। विभागले छिट्टै डेस्क थप्ने आश्वासन दिएकाले दैनिक ५०० परिचयपत्रको विवरण प्रविष्ट गर्न सकिने अपेक्षा प्रशासनको छ।

राहदानी बनाउन, बैंक खाता खोल्न वा वृद्ध, अपाङ्गता आदि सुविधाका लागि तत्काल परिचयपत्र आवश्यक पर्ने सेवाग्राहीले आधार, कारण र प्रमाणसहित निवेदन दिएर प्राथमिकतामा सेवा लिन सक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ।

Leave a review