बारामा अवैध मलखाद भण्डारणमा प्रहरीको छापा, ६ लाखभन्दा बढी मूल्यको मल बरामद

साझेदारी डेलि
536 पाठक संख्या

बारा । बाराको प्रसौनी गाउँपालिकामा कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले गोदाममा लुकाइछिपाइ राखिएको नेपाली अनुदानित तथा भन्सार छली गरी ल्याइएको भारतीय मलखाद प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार प्रसौनी गाउँपालिका–५, प्रस्टोका क्षेत्रमा सञ्चालन हुँदै आएका पसल तथा सहकारी संस्थामा छापा मारेर ठूलो परिमाणमा मलखाद बरामद गरेको हो।

प्रहरीका अनुसार नितिक बीउ भण्डारका सञ्चालक शिवशंकर साहले रामअवध सहनीको घरलाई गोदामका रूपमा प्रयोग गरी लुकाइराखेको २९ बोरा अनुदानित पोटास मल बरामद गरिएको छ। उक्त मलको अन्दाजी मूल्य ४७ हजार ३४२ रुपैयाँ ५० पैसा रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी रबिन्द्र साह सञ्चालित विक्की गल्ला भण्डारबाट ५९ बोरा अनुदानित पोटास मल बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त मलको अन्दाजी मूल्य ९६ हजार ३१७ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै रमेश साह सञ्चालित महा सरस्वती कृषि सहकारी संस्था लिमिटेडबाट भन्सार छली गरी ल्याइएको २८ बोरा भारतीय युरिया, १७ बोरा एमोनियम सल्फेट तथा ८ बोरा नेपाली अनुदानित युरिया गरी कुल ५३ बोरा मल बरामद गरिएको छ। बरामद मलको अन्दाजी मूल्य ५० हजार ७२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

यसैबीच, मधेश प्रदेश ०३–००२ च ११८२ नम्बरको ई–लोडरमा १६ बोरा भारतीय युरिया मल ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले मलसहित ई–लोडर नियन्त्रणमा लिएको छ। बरामद मल र ई–लोडरको कुल अन्दाजी मूल्य ४ लाख १४ हजार ७२० रुपैयाँ रहेको बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

उनका अनुसार बरामद गरिएको मलखाद तथा सवारीसाधनको कुल अन्दाजी मूल्य ६ लाख ९ हजार १०० रुपैयाँ बराबरको रहेको छ साथै इलाका प्रहरी कार्यालय प्रसौनीमा राखी थप अनुसन्धान भइरहेको छ ।

Leave a review

This will close in 0 seconds