कलैया । बाराको करैयामाई गाउँपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार सम्पन्न कार्यक्रममा संशोधित नियमावलीका मुख्य व्यवस्था, कार्यान्वयनका प्रक्रिया तथा विद्यालयहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी प्रधानाध्यापकहरूले नियमावली कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौती र समाधानका उपायबारे समेत आफ्ना धारणा राखेका थिए।
गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनैना कुमारी चौधरी, गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयका प्रधानाध्यापक, महिला विकास शाखाकी लक्ष्मी लामा, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण पञ्जीकरण शाखाकी सुमिता चौधरीले गरेकी थिइन्। गाउँपालिकाले यस्ता अन्तरक्रियामार्फत राष्ट्रिय परिचयपत्र तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी व्यवस्थालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा व्यक्त गरेको छ।


