कोल्हवीमा २१.४१ क्युफिट सालको काठसहित चार साइकल बरामद

रञ्जन यादव
87 पाठक संख्या

कोल्हवी । बाराको कोल्हवी क्षेत्रमा सालको काठ तस्करी भइरहेको सूचनाका आधारमा निगरानीमा खटिएको वन कर्मचारीको टोलीले काठसहित चार थान साइकल बरामद गरेको छ । तस्करीमा संलग्न व्यक्तिहरू भने कर्मचारीलाई देखेपछि काठ र साइकल छाडेर फरार भएका छन् ।

कोल्हवी नगरपालिका–स्थित बालुवा गाउँको उत्तरी वन क्षेत्रमा राति करिब २ बजे गरिएको निगरानीका क्रममा सामग्री नियन्त्रणमा लिइएको हो । मधुवन सबडिभिजन वन कार्यालय, नयाँबस्तीबाट खटिएको टोलीले एम्बुस थापेर निगरानी गरिरहेका बेला जंगलबाट सालको गोलिया काठ ओसारपसार भइरहेको अवस्थामा फेला पारेको डिभिजनल वन अधिकृत सुजितकुमार झाले जानकारी दिए ।

वन कर्मचारीको उपस्थिति थाहा पाएपछि काठ ओसारिरहेका व्यक्तिहरू अँध्यारोको फाइदा उठाउँदै भागेका थिए । उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरिए पनि सफल हुन नसकिएको वन कार्यालयले जनाएको छ ।

मधुवन सबडिभिजन वन कार्यालयका रेञ्जर उदय पुडासैनीका अनुसार घटनास्थलबाट चार थान सालको गोलिया काठ र चार थान साइकल बरामद गरिएको छ । बरामद काठको परिमाण २१.४१ क्युफिट रहेको उनले बताए ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी गर्नुका साथै काठ तस्करीसम्बन्धी थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

Leave a review