अधुरो सडकले कलैया बजार अस्तव्यस्त : वर्षा लागेसँगै हिलो र जलमग्न सडकका कारण आवागमन प्रभावित

साझेदारी डेलि
227 पाठक संख्या

कलैया । बाराको सदरमुकाम कलैयास्थित मानमत–मटिअर्वा–कलैया सडकखण्डको बजार क्षेत्रभित्र पर्ने करिब साढे तीन किलोमिटर सडक वर्षौंदेखि निर्माणको प्रतीक्षामै रहेपछि स्थानीय बासिन्दाले वर्षेनी उस्तै सास्ती भोग्न बाध्य भएका छन्। निर्माण कार्य अघि नबढ्दा सामान्य वर्षा भए पनि सडक हिलाम्मे हुने र विभिन्न स्थानमा पानी जम्ने समस्या दोहोरिँदै आएको हो।

भरतचोक, देवकोटा चोक लगायतका व्यस्त बजार क्षेत्रमा सडकको सतह बिग्रिएकाले पानी निकास हुन नसकी वर्षाको पानी सडकमै थुप्रिने गरेको छ। यसले पैदल यात्रु, साइकलबाहक, मोटरसाइकल चालकदेखि एम्बुलेन्स र सार्वजनिक सवारी सञ्चालनसम्म प्रभावित हुने गरेको स्थानीयको भनाइ छ। व्यापारिक गतिविधिसमेत सुस्ताएको व्यवसायीहरूले बताएका छन्।

यो सडक निर्माणका लागि विगतमा पटक–पटक ठेक्का प्रक्रिया अघि बढाइए पनि विभिन्न प्रशासनिक र प्राविधिक कारणले कुनै पनि प्रक्रिया निष्कर्षमा पुग्न सकेन। परिणामस्वरूप आयोजना वर्षौंदेखि अधुरै रह्यो। अहिले हुलाकी राजमार्ग निर्देशनालयले अघिल्ला सबै प्रक्रिया रद्द गर्दै पुनः नयाँ ठेक्का आह्वान गरेको छ। यो चौथो प्रयास भए पनि निर्माण कार्य कहिलेदेखि सुरु हुने भन्ने निश्चित हुन सकेको छैन।

स्थानीयवासीका अनुसार सुख्खायाममा धुलो र वर्षायाममा हिलोको समस्याले बजार क्षेत्रको दैनिकी नै प्रभावित भएको छ। सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा दुर्घटनाको जोखिम पनि बढेको उनीहरूको भनाइ छ।

वर्षौंदेखि अधुरो रहेको सडकलाई अब थप ढिलाइ नगरी निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्ने स्थानीयको माग छ। उनीहरूले विकास आयोजनामा हुने निरन्तरको ढिलाइले नागरिकले सास्ती मात्र खेप्नुपरेको भन्दै जिम्मेवार निकायलाई कामप्रति उत्तरदायी बन्न आग्रह गरेका छन्।

Leave a review

This will close in 0 seconds