रौतहट प्रहरीको प्रभावशाली कार्यसम्पादन,अपराध नियन्त्रणदेखि भन्सार छली रोक्न उल्लेखनीय सफलताको दावी

Om Prakash Yadav
349 पाठक संख्या

रौतहट । आर्थिक वर्ष २०८२/०८३ मा सीमित जनशक्तिका बाबजुद रौतहट प्रहरीले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण तथा भन्सार छली रोकथाममा उल्लेखनीय उपलब्धि हासिल दावी गरेकोे छ।

आइतबार जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी सीताराम रिजालले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि प्रहरीको कार्यसम्पादन सन्तोषजनक रहेको बताए ।

प्रहरीका अनुसार एक वर्षको अवधिमा जिल्लामा १ हजार १ सय ५२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ६ सय ८० वटा मुद्दा फछ्र्यौट भएका छन् भने ६ सय १४ जना अभियुक्त पक्राउ परेका छन्।

अदालतबाट सजाय तोकिएर फरार रहेका ४ सय ४८ जना प्रतिवादी पक्राउ गरी ७६ वर्ष ११ महिना ११ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ। साथै ६३ लाख ७१ हजार ५ सय ७४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको छ। यस क्रममा ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर, एम्पुल तथा लागूऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ। यस्तै प्रहरीले ६ थान अवैध हतियार, ११ राउण्ड गोली तथा खोटा मुद्रा सम्बन्धी मुद्दामा ७ जनालाई पक्राउ गरेको जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने भन्सार छली नियन्त्रण अभियानमा प्रहरीले ५ करोड १२ लाख ५५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

त्यस्तै स्रोत नखुलेको १३ लाख ६२ हजार २ सय रुपैयाँ सहित चार जनालाई पक्राउ गर्नुका साथै अवैध उत्खनन, काठ तस्करी र अवैध मदिरा उत्पादनविरुद्ध पनि व्यापक कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले एक वर्षमा १ लाख ३३ हजार ७ सय ६४ जनालाई विभिन्न सेवा प्रदान गरेको जानकारी दिँदै आगामी वर्ष साइबर अपराध नियन्त्रण, सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको जनाएको छ।

Leave a review