सशस्त्र प्रहरीद्वारा ३१ लाख ७९ हजारको अवैध सामान बरामद

साझेदारी डेलि
190 पाठक संख्या

बारा । बारा जिल्लामा सशस्त्र प्रहरीले साउन महिनामा विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरि नेपाल भित्र्याइएका करिब ३१ लाख ७९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालका अनुसार मंगलवार बिश्रामपुर गाउँपालिका–४ स्थित खुदियाटोला सीमा क्षेत्रबाट बरामद गरिएको सामानसहित जिल्लामा साउन महिनामा हालसम्म बरामद अवैध सामानको अन्दाजी करिब ३१ लाख ७९ हजार रुपैयाँ पुगेको हो।

सीमा सुरक्षा चौकी (बीओपी) बरैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५ लाख ८९ हजार रुपैयाँ बराबरका ७७९ थान लेडिज टप्स र ७६ थान लेडिज कुर्ता बरामद गरेको एसपी सिलवालले जानकारी दिए।

त्यस्तै, ३० हजार ९१० रुपैयाँ बराबरका पेय पदार्थ, किराना तथा औषधि समेत बरामद गरिएको छ। पछिल्लो बरामद सामानको कुल अन्दाजी मूल्य ६ लाख १९ हजार ९१० रुपैयाँ रहेको उनले जानकारी दिए । सशस्त्र प्रहरीको टोलीलाई देखेपछि सामान ल्याउने व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।

बरामद कपडा, पेय पदार्थ, किराना तथा औषधिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी सिलवालले बताए।

एसपी सिलवालका अनुसार बीओपी बरैनियाबाट मात्रै साउन महिनामा हालसम्म करिब २५ लाख ६० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।

सीमा क्षेत्रमा हुने चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा निगरानी, गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको एसपी सिलवालले जानकारी दिए ।

Leave a review