कोल्हवी । बाराको कोल्हबी नगरपालिका–४ सपही जाने सडकखण्डबाट वन गस्ती टोलीले अवैध रूपमा ओसारपसार गर्न लागिएको सालको काठ बरामद गरेको छ। कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलको नेतृत्वमा खटिएको टोलीले सोमबार राति दुईवटा साइकलमा राखेर लैजाँदै गरिएको अवस्थामा सालका दुई थान गोलिया फेला पारेको हो।
डिभिजन वन कार्यालय बाराका अनुसार बरामद काठको परिमाण करिब १० क्युफिट रहेको छ। गस्ती टोलीलाई देखेपछि काठ ओसारपसारमा संलग्न व्यक्तिहरू साइकल र काठ छाडेर भागेका थिए।
वनकर्मीले नियन्त्रणमा लिएको काठलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कोल्हबी सब–डिभिजन वन कार्यालयको परिसरमा सुरक्षित राखिएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि वन कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ।
पछिल्लो समय वन क्षेत्रबाट हुने अवैध कटानी तथा वन पैदावारको चोरी–निकासी नियन्त्रण गर्न गस्तीलाई तीव्र बनाइएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। कार्यालयले वन क्षेत्रमा हुने गैरकानुनी गतिविधिबारे जानकारी गराई नियन्त्रण अभियानमा सहयोग गर्न स्थानीयवासीसँग आग्रह गरेको छ। अवैध रूपमा वन पैदावार कटानी, चोरी वा ओसारपसारमा संलग्न पाइए प्रचलित कानुनअनुसार कारबाही हुने वन कार्यालयले जनाएको छ।


