अत्याधिक गर्मीका कारण जीतपुरसिमरा क्षेत्रका शिक्षण संस्थाहरु बन्द

साझेदारी दैनिक
साझेदारी दैनिक 600 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादव/

अत्याधिक गर्मीका कारण जनजिवन नै कष्टकर भएपछि बाराको जीतपुरसिमरा उपमहानगरपािलकामा रहेका शिक्षण संस्थाहरु बिहिबारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रभाव परिरहेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै जेठ १८ देखि जेठ २० गते सम्म उपमहानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जारी गर्नुभएको सूचनामा बढ्दो गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्नसक्ने प्रतिकुल प्रभावलाई मध्यनजर गरि वर्खे विदामा कट्टा हुनेगरी तीन दिनका लागि सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।

अत्याधिक गर्मीका कारण बारा तथा पर्साका विद्यालयमा विद्यार्थीहरु कक्षा कोठामै बेहोश पनि हुन थालेका छन् । बारा ,पर्सा लगायतका जिल्लामा पछिल्लो एक साता यता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४० देखि ४३ डिग्रि सेल्सियससम्म पुग्ने गरेको छ । जसका कारण यस क्षेत्रको जनजिवन नै प्रभावित भएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review