करण कुमार मिश्र/
विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएका ५१ र २० बुँदे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन देशभर स्थानीय तहहरुका कार्यालयमा आईतवार ज्ञापनपत्र तथा धर्ना दिइएको छ ।
केन्द्रीय कार्यक्रम अनुसार नेपाल शिक्षक महासंघले रौतहट जिल्लाका १८ वटै पालिकामा धर्ना दिएको छ । आइतबार शिक्षक महासंघमा आवद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएको शिक्षक संगठन रौतहटका जिल्ला अध्यक्ष अनिल कुमार निधीले जानकारी दिएका हुन् ।
उनका अनुसार महासंघले दोश्रो चरणको विरोधका कार्यक्रम अन्तर्गत श्रावन ३० गते जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा सम्बन्धित जिल्लाका शिक्षक कर्मचारीको उपस्थितिमा जिल्ला समन्वय एकाइमा धर्ना दिइ जानकारी पत्र बुझाउने कार्यक्रम तय भएको हो ।
त्यस्तै,महासंघले विरोधका कार्यक्रम अन्तरगत श्रावन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना,भदौ १ गते संघीय सांसदहरुलाई जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्ने कार्यक्रम तय गरेको छ । पहिलो चरणका कार्यक्रमबाट मागको सुनुवाइ नभए आगामी चरणमा देश भरीकै शिक्षक र कर्मचारीहरुको उपस्थितिमा काठमाडौंमा लगातार विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
विशेष शिक्षा परिषद्को दरबन्दीमा कार्यरत शिक्षकहरुको आफ्ना लागि परीक्षासम्बन्धी विशेष व्यवस्था गरी शिक्षक सेवा आयोगबाट स्थायी गर्ने प्रबन्ध गर्नुपर्ने महासंघको माग छ । त्यस्तै, २०७२ असोज ३ गते पछिका अस्थायी÷करार शिक्षकको पनि त्यसअघिका अस्थायी शिक्षकलाई जस्तै आन्तरिक खुला परीक्षाको व्यवस्था गरी स्थायी गर्नुपर्ने शिक्षकहरुको माग छ ।

