रञ्जन यादब/
समाजिक सञ्जालमा भाईरल बनेका बारा सिमराका शिक्षक ब्रह्मदेव पासवानलाई जीतपुरसिमरा उपमहानगरपालिकाले साबिक बिद्यालय सिमरा विद्यालयमै काजमा खटाएको छ ।
उनलाई उपमहानगरपालिकाले बुधबार निर्णय गरी सिमरा विद्यालयमै काजमा खटाएको हो ।
३९ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक पासवानलाई नगरपालिकाले त्यहाँबाट करिब १२ कि.मि.को दुरीमा रहेको वडा नम्बर २४ हरपुर विद्यालयमा सरुवा गरेको थियो ।
पासवानसंगको आपसी सहमतीमा त्यतीवेला हरपुर स्थित आफ्नो दाईको घर रहेकोले उहाले सरुवा हुन स्विकार गरेका थिए । पारिवारिक समस्याका कारण उनले सिमरामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
सरुवा भएका शिक्षक पासवान रमाना लिएर हरपुरस्थित विद्यालयमा पुगेपछि त्यहाँका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले उनलाई हाजिर गराएका थिएनन् ।
रमाना लिएर गएका शिक्षकलाई हाजिर नगराएपछि शिक्षक पासवान यता न उताको भएका थिए। पढाउँदै आएको विद्यालयबाट रमाना लिएको तथा सरुवा भएको विद्यालयले हाजिर गर्न नमानेपछि समस्यामा परेका पासवान असोज ८ गतेदेखि बाध्य भई नगरपालिका कार्यालयमै हाजिर गर्दै आएका थिए।
सोझो र मिहिनेती स्वभावका शिक्षक पासवानलाई हाजरी नगराएपछि उनी समस्यामा परेका थिए ।विद्यालयले हाजिर नगराएपछि राजीनामा दिने बताएका थिए ।
सामाजिक सञ्जालमा पनि नगरपालिकाको चर्को आलोचना भएपछि बुधबार नगरपालिकाले पासवानलाई सिमरा स्कुलमै काजमा खटाउने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखाका प्रमुख शिवजी साहले जानकारी दिए।
उनले नगरपालिकाले पासवानलाई सिमरा विद्यालयमै काजमा राख्ने निर्णय गरेको जानकारी दिए। कक्षा पाँचसम्म पढाउँदै आएका पासवानको जरुरी नभएकाले विद्यालयमा हाजिर नगराइएको हरपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इलियास देवानले बताएका थिए।
कक्षा १० सम्म पढाउने भन्दै उक्त विद्यालयले शिक्षक पासवानलाई हाजिर गराएको थिएन ।

