ठेकेदार खोज्दै सांसद भगवती चौधरी सडक अवलोकनमा

साझेदारी दैनिक
362 पाठक संख्या

रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखिएको छ । यो देखेपछि सांसद सुनसरीकी प्रतिनिधि सभा सदस्य भगबती चौधरीले सडकमै उत्रिएर अनुगमन गरेकी छन् ।

गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेकी हुन् । उनले सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी छन् ।

रणनीतिक सडकको चतरा नहरबाट एकम्बा–चाँदबेला–औरावनी–छिटाहा–चिमडी देखि अमडुवासम्मको सडक खण्डको इनरुवा चाँदवेला क्षेत्रमा निरीक्षण गर्दा साइड ड्रेन निर्माणमा लापरवाही गरिएको पाइएको छ ।

एकनासले ड्रेन निर्माण नगरेको तथा दैनिक धुलो, हिलोले स्थानीयबासी प्रताडित भएको पाएपछि सांसद चौधरी मैदानमा देखिएकी हुन् । उनले लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न कार्यालय प्रमुख साहलाई निर्देशन दिएकी छन् ।

‘म अहिले चाँदबेला मै छु, काम त राम्रो भएको छैन उनले भनिन्। ठेकेदारलाई बोलाएर सोध्नुस, अनुगमन गर्नुस् भन्दै चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख साहलाई निर्देशन दिएकी हुन् ।

रणनीतिक सडकका लागि सांसद चौधरीले संघीय सरकारबाट बजेट विनियोजन गर्न ठूलै कसरत गरेकी थिइन् । गत आर्थिक वर्ष सांसद चौधरीकै प्रयासमा २० करोड रुपैंया विनियोजन भएको हो । चालू आर्थिक वर्षका लागि १० करोड रुपैंया विनियोजन भएको छ । सडक निर्माणको कामभने सुस्तगतीमा भइरहेकोले स्थानीय आक्रान्त बनेका छन् ।

गत वर्षको फागुनदेखि बन्द रहेको सडक निर्माण कार्य केही दिन यता पुनः सूचारु भएको छ । साईड ढलानमा लापरवाही र सुस्तगतीमा भइरहेको अनुगमनको क्रममा स्थानीयले सांसद चौधरीलाई जानकारी गराएका थिए । उनीहरुले धुलो र हिलोले स्थानीयहरु सडकमा हिँड्नै नसक्ने अवस्था रहेको बताए ।

स्थानीय नेता कार्यकर्ता सहित क्षेत्रमा भइरहेका रणनीतिक सडक,पुल लगायत विकास निर्माणका कार्यहरुको प्रतिनिधि सभा सदस्य चौधरीले अनुगमन गरिरहेकी हुन् । जनतालाई सास्ती नहुने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिइन् । सो क्रममा प्रमुखले सडक निर्माणमा ठेकेदारबाट भएका लापरवाहीमा आवश्यक अनुसन्धान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाए ।

Leave a review