करण कुमार मिश्र/
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सुरु गरेको विकासका आयोजना गठबन्धन सरकारले कटौती गरेको बताए ।
रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताए।
देशको अवस्था नाजुक र जरजर हुनुको कारण गठबन्धन सरकार नै भएको भन्दै उनले यो सरकारले देश चलाउन नसक्ने जिकिर गरे।
वर्तमान सरकारको काम कारवाहीबाट आजित भइसकेका आम जनताले आगामी निर्वाचनमा गठबन्धन भित्रका दलहरुलाई फाल्ने र एमालेलाई एक्लै सरकार बनाउने गरी बहुमत दिएर विजयी गराउने उनले ठोकुवा गरे ।
आगामी निर्वाचनमा एमालेलाई पूर्ण बहुमत सहित जिताउन अहिले देखी नै पार्टीलाई मजबुत बनाउने कार्यमा लाग्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए ।
एमाले संग ठुलो अन्र्घात गरेका माधवकुमार नेपालले आगामी ८४ को चुनावमा कुनै पनि हालतमा नजित्ने अध्यक्ष ओलीले दावी गरे ।
अध्यक्ष ओलीले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पार्टी राष्ट्रिय पार्टी नै नरहेकोले उनी स्वतन्त्र सांसदको हैसियतमा रहेको र आगामी निर्वाचनमा नेपालले त्यो हैसियत समेत गुमाउने बताए ।
माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफूले रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोपसमेत लगाए ।
“हजारौ श्रमिकलाई रोजगारी दिने श्रीराम सुगर मिल्स गरुडा विगत केहि वर्ष देखी बन्द रहेकोले सो मिल सुचारु गराउन आफु प्रधानमन्त्रीसंग कुरा गर्ने उनले बताए । मिल्स बन्द भएको प्रति आफनो गम्भिर ध्यानाकर्षण भएकोले बन्द उद्योग खुलाउन आफु पहलकदमी लिने उनले आश्वासन दिए ।
यसैविच गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १०१ किलोको फुलको माला लगाएर स्वागत गरेका थिए । मेयर जयसवालले ओलीलाई मायाको चिन्हो समेत प्रदान गरेका थिए ।
त्यसैगरी सोही कार्यक्रममा एमालेको पत्रकारहरुको वर्गीय संगठन प्रेस चौतारी नेपालमा विभिन्न संगठनमा आवद्ध दुई दर्जनभन्दा बढी पत्रकारहरु प्रवेश गरेका छन् । अध्यक्ष ओलीको हातबाट टिका र माला उनिहरु चौतारीमा प्रवेस गरेका छन् ।
जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, केन्द्रिय सदस्य अजय गुप्ता लगायतले बोलेका थिए ।
दुई दिनसम्म चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ ।
पार्टीको जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ । अध्यक्ष पदका लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,पूर्व सांसद बबन सिंह र रुपेश पटेलहको नाम चर्चामा रहेको छ ।

