नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् नेतृ डा.डिला संग्रौलाले नेपाल कृषि प्रधान देश भएपनि कृषिको लागि पानीको अभावको कारणमा मधेशमा सुखा र खडेरी बढदै गएको बताएकी छिन ।
बाराको सदरमुकाम कलैया स्थित विपी स्मृती भवनमा नेपाल प्रेस युनियन बारा शाखाले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य संग्रौलाले यस्तो बताएकी हुन । उनले चुरे दोहन कै कारण मधेश प्रदेशमा पानीको अभाव भई सुख्खा र खडेरी हुने क्रम बढेको बताईन ।
विशेष गरि मधेश प्रदेशका अधिकांश मानिसहरु कृषिमा निर्भर छन् । हाम्रो देशको अर्थतन्त्र कृषि र रेमिटान्समा निर्भर छ । तर कृषिको लागि चाहिने पानीको अभाव केही वर्षदेखि मधेश प्रदेशमा बढदै गएको संग्रौलाले बताएकी छिन । खडेरीका कारण उत्पादनमा समेत ह्रास हुँदै गएकाले कतिपय किसानहरु कृषि पेशाबाट पलायन हुने अवस्थामा पुगेका नेतृ संग्रौलाको भनाई छ ।
बढ्दो चुरे दोहनलाई सरकारले नियन्त्रणमा गर्न सकेको छैन । बालुवा गिटीको उत्खनन र चुरे दोहनले मधेशमा खडेरी बढाएको अवस्था छ । तर सरकारले यसको रोकथाम तथा नियन्त्रण गर्न कुनै कदम नचालेको नेतृ संग्रौलाले आरोप लगाईन ।’
अहिलेको परिस्थितिमा जुन रुपमा चुरे दोहन भइरहेको छ त्यही अनुपातमा दोहन भइरहने हो भने मधेश सकिन बेर लाग्दैन र मधेश सकिए देश सकिन कसैले पनि रोक्न नसक्ने उनले जनाईन ।
अहिले देशमा खाद्य संकट उत्पन्न हुनु चुरे दोहनको मुख्य कारण रहेको छ, चुरे दोहनले पानीको अभाव भएको छ र पानीको अभावमा कृषि उत्पादमा प्रत्यक्ष पारेको छ । जसको कारण भारतबाट आयात हुने चामल हामी किनेर खान बाध्य भएका छौ, संग्रौलाले भनिन् ।
केही समय पहिलासम्म आफनै देशको उत्पादनले देशलाई खाद्यान्न पुग्ने गरेको थियो तर अब हामी खाद्यान्न आपूर्ति हुन नसकेर परनिर्भर बन्दै गएका छौ,उनले भने,‘नेपाली कृषकहरु एकातिर खडेरीको मार खेप्न बाध्य छन भने अर्को तर्फ समयमा खाद्य मल, विउ नपाएर किसानी गर्न समेत समस्या हुँदै आएको संग्रौलाले बताएकी हुन । ।
सरकारले आफनै देशमा मल उत्पादन गर्न सकेको छैन । यदि भारतबाट नै मल ल्याउने हो भने पनि दुई सरकार बीच कुरा गरेर समयमै मल खाद्य विऊ उपलब्ध गराई दिने हो भने कृषकहरुलाई केही हदसम्म भएपनि राहत पुग्ने उनले बताईन ।
नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादव, उपसभापति मनोज भट्ट,नेपाल प्रेस युनियम मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ,नेपाली काँग्रेसका महासमिति सदस्य लुकेश सिंह लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको संचालन नेपाल प्रेस युनियन बाराका सचिव राजेश कुशवाहाले गरेका थिए ।

