पत्रकार महासंघको सदस्यता टुंगो नलगाई साधारणसभा,अधिवेशन सहितका कुनै पनि प्रक्रिया अगाडी नबढाउन नेपाल पत्रकार महासंघ शाखा बारासंग नेपाल प्रेस युनियन बाराले आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठको विशेष उपस्थितिमा युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको नेतृत्वमा रहेको टोलीले सोमबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
युनियनको टोलीले नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
पत्रमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न बैठकले पत्रकार महासंघले सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला,प्रदेश र केन्द्रको अधिवेशन÷साधारणसभा गर्न निर्णय गर्दै पत्रकार महासंघलाई आग्रह गरेको जानकारी ध्यानाकर्षण पत्र मार्फत गराइएको छ ।
नेपाल पत्रकार महासंघले प्रेस युनियनको माग विपरित अधिवेशन÷साधारणसभा सहितका कुनै पनि प्रक्रिया अगाडी बढाएमा सोबाट उत्पन्न हुन जाने परिस्थितिको जवाफदेही स्वयं नेपाल पत्रकार महासंघ शाखा बारा नै हुने समेत यसै ध्यानाकर्षण–पत्र मार्फत जानकारी गराइएको छ ।
ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी घोषण पत्र अनुसार सदस्यता शुद्धिकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहेको जनाइएको छ ।
नेपाल पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन नेपाल प्रेस युनियनले निर्वाह गरेको भूमिकाबारे पत्रकार महासंघ अनभिज्ञ नरहेको समेत जनाइएको छ ।
पूराना सदस्यको नविकरण तथा नयाँ सदस्यताको नामावली टुंगो नलागाई नेपाल पत्रकार महासंघले शुद्धिकरण अभियानलाई थाँती राखेर सार्वजनिक रुपमा प्रेस विज्ञप्ती जारी गरी जिल्ला,प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेको प्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको समेत सो पत्रमा उल्लेख गरिएको छ ।
पत्रकार महासंघको यस्तो निर्णयबाट शुद्धिकरण अभियानलाई नै ओझेलमा पार्ने काम भएको हाम्रो बुझाई रहेको छ ध्यानाकर्षण पत्रमा लेखिएको छ ।


