जीतपुरसिमरा नगर अस्पतालमा सस्तो उपचार : चार महिनामा सयभन्दा बढी जटिल शल्यक्रिया

रञ्जन यादव
65 पाठक संख्या

सिमरा । हाडजोर्नीसम्बन्धी जटिल समस्याको उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता झेल्दै आएका बिरामीले बाराको जीतपुरसिमरा नगर अस्पतालबाट तुलनात्मक रूपमा कम शुल्कमा शल्यक्रिया सेवा पाउन थालेका छन् । अस्पतालमा पछिल्लो चार महिनामा सयभन्दा बढी जटिल शल्यक्रिया गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आन्तरिक राजस्वबाट सञ्चालित सिमरास्थित अस्पतालमा हड्डी भाँचिएका, जोर्नीमा गम्भीर चोट लागेका तथा कृत्रिम जोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीको उपचार भइरहेको छ । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवनीत रौनियारको नेतृत्वमा शल्यक्रिया सेवा सञ्चालन भएपछि स्थानीय बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता घटाउन सहयोग पुगेको छ ।

अस्पतालमा उपलब्ध सेवाले उपचार खर्चमा समेत उल्लेख्य अन्तर देखाएको छ । निजी अस्पतालमा चारदेखि पाँच लाख रुपैयाँसम्म लाग्न सक्ने केही जटिल शल्यक्रिया नगर अस्पतालमा करिब ४० देखि ५० हजार रुपैयाँमा गर्न सकिने बताइएको छ । शल्यक्रियामा प्रयोग हुने स्टिल तथा अन्य इम्प्लान्टका लागि मात्रै २२ देखि २५ हजार रुपैयाँ खर्च लाग्ने डा. रौनियारले जानकारी दिएका छन् । अस्पतालले बेड र औषधिमा छुटको व्यवस्था गर्दा बिरामीको आर्थिक भार कम गर्न सहयोग पुगेको छ ।

वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टरबाट आएका विशेषज्ञ चिकित्सक रौनियारले सीमित उपकरण, जनशक्ति र पूर्वाधारका बीच शल्यक्रिया सेवा दिइरहेका छन् । आवश्यक स्रोतसाधनको अधिकतम उपयोग गर्दै जटिल उपचारलाई निरन्तरता दिइएको अस्पतालको सेवाले विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिएको छ ।

नगर अस्पतालमा कृत्रिम जोर्नी प्रत्यारोपण गराएका जीतपुरसिमरा–२ का ७० वर्षीय हरिदेव राम सहनीले कम खर्चमा आफ्नै क्षेत्रमा उपचार पाएकोमा खुसी व्यक्त गरेका छन् । महँगो उपचार गराउन आर्थिक कठिनाइ हुने अवस्थामा नगर अस्पतालले सेवा उपलब्ध गराएको भन्दै उनले चिकित्सक तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरे ।

त्यस्तै, जीतपुरसिमरा–८ का १८ वर्षीय अनिल सहनीले दुवै हात भाँचिएपछि यही अस्पतालमा उपचार गराएका छन् । गम्भीर चोट लाग्दा पनि स्थानीय स्तरमै उपचार पाउँदा सहज भएको उनले बताएका छन् ।

हाडजोर्नीको शल्यक्रियाबाहेक अस्पतालबाट बालबालिकाको उपचार, मुटुरोगसम्बन्धी सेवा तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा पनि प्रदान हुँदै आएको छ । अस्पताल प्रशासनका अनुसार दैनिक तीन सयदेखि चार सय जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

स्थानीय जीवन खड्गाले विशेषज्ञ चिकित्सकको पहलले विपन्न परिवारलाई महँगो उपचारको आर्थिक भारबाट जोगिन सहयोग पुगेको बताएका छन् । नगर अस्पतालमा जटिल शल्यक्रियासहित विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि जीतपुरसिमरा र आसपासका क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै उपचारको विकल्प मिलेको छ ।

सीमित पूर्वाधारका बाबजुद नगर अस्पतालले सुलभ उपचार र विशेषज्ञ सेवाको पहुँच विस्तार गर्ने प्रयास गरिरहेको छ । यद्यपि, सेवाको दिगोपन र प्रभावकारिताका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

Leave a review