महागढीमाईमा एम्बुलेन्स सेवा लथालिंग,सर्वसाधारण उपचारका लागि निजी सवारीकै भर

साझेदारी डेलि
44 पाठक संख्या
फोटो : एआईद्धारा तयार पारिएको तस्विर ।

बारा । आकस्मिक स्वास्थ्य समस्या पर्दा बिरामीलाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने स्थानीय सरकारको एम्बुलेन्स सेवा नै प्रभावकारी नहुँदा बाराको महागढीमाई नगरपालिकाका बासिन्दा समस्यामा परेका छन्। नगरपालिकामा रहेका दुईवटै एम्बुलेन्सबाट सहज सेवा पाउन नसकिएको स्थानीयको गुनासो छ। एम्बुलेन्स उपलब्ध नहुँदा बिरामीलाई निजी ई–रिक्सा तथा टेम्पोमा राखेर अस्पताल लैजानुपर्ने अवस्था रहेको छ।

महागढीमाई नगरपालिका–४ का स्थानीय बृजमोहन ठाकुरले बिरामीलाई कलैया अस्पताल लैजान एम्बुलेन्सका चालकसँग सम्पर्क गर्दा सेवा उपलब्ध नभएको बताए। उनका अनुसार बरियारपुरका एम्बुलेन्स चालक साहेबले गाडी बिग्रिएको जानकारी दिएका थिए भने गन्जभवानीपुरका चालक शिवजीप्रसादले अर्को बिरामी लिएर वीरगन्ज गएको जवाफ दिएका थिए।

दुवै एम्बुलेन्सबाट सेवा नपाएपछि मलहनी टोलका बिरामीलाई निजी सवारीसाधनको व्यवस्था गरी कलैया अस्पताल पुर्‍याउनुपरेको ठाकुरको भनाइ छ। बिरामीलाई अस्पताल लैजानुपर्ने संवेदनशील समयमा समेत एम्बुलेन्स नपाइनुले नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापनप्रति प्रश्न उठेको उनले बताए।

एम्बुलेन्स सेवा अनियमित हुँदा सबैभन्दा बढी समस्या आकस्मिक बिरामी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएका परिवारले भोग्नुपरेको स्थानीयको भनाइ छ। निजी सवारीसाधन खोज्नुपर्ने बाध्यताले उपचारमा ढिलाइ हुनुका साथै अतिरिक्त आर्थिक भारसमेत थपिने गरेको छ।

नगरपालिकाले नागरिकको सुविधाका लागि दुईवटा एम्बुलेन्स र एउटा दमकल (बरुणयन्त्र) उपलब्ध गराएको भए पनि ती साधनको नियमित सञ्चालन र व्यवस्थापनमा कमजोरी देखिएको स्थानीयको आरोप छ। अत्यावश्यक सेवाका लागि खरिद गरिएका सवारीसाधन बिग्रिएको अवस्थामा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन नसक्नुले सार्वजनिक सेवा प्रवाहमाथि नै प्रश्न खडा गरेको छ।

स्थानीयले एम्बुलेन्सको नियमित मर्मतसम्भार, चालकको जवाफदेहिता र आकस्मिक अवस्थामा चौबिसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था मिलाउन नगरपालिकासँग माग गरेका छन्। नगर प्रमुखसहित सम्बन्धित जनप्रतिनिधिले यस विषयमा तत्काल चासो दिएर सेवा सञ्चालनलाई व्यवस्थित बनाउनुपर्ने उनीहरूको आग्रह छ।

स्थानीयका अनुसार एम्बुलेन्स र दमकलजस्ता अत्यावश्यक सेवाका साधन आवश्यक परेको समयमा सञ्चालनमा नआउनु सामान्य प्रशासनिक कमजोरी मात्र होइन, नागरिकको स्वास्थ्य र सुरक्षासँग जोडिएको विषय हो। त्यसैले उपलब्ध साधनलाई प्रयोगविहीन हुन नदिई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने आवश्यकता देखिएको छ।

Leave a review