अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

साझेदारी डेलि
92 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्याङ्करमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। सोही क्रममा ईभी हाइसको पछाडि धरानबाट हेटौंडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकलसमेत ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा ट्याङ्कर चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवा निवासी ५० वर्षीय चेतनाथ खरेल र ईभी चालक कास्कीको पोखरा महानगरपालिका–५ निवासी ३८ वर्षीय आशिष मल्लसहित १० जना घाइते भएका छन्।

घाइते हुनेमा ईभीमा सवार पर्साको वीरगञ्ज महानगरपालिका–२ निवासी ४५ वर्षीया समिना खातुन, उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन, बाराको जितपुरसिमरा निवासी २२ वर्षीया आशिका श्रेष्ठ, कास्कीको पोखरा महानगरपालिका–१८ साराङकोट निवासी ४३ वर्षीय मनोज थापा क्षेत्री, भारतको बिहारस्थित पूर्वी चम्पारण निवासी ७० वर्षीय नवल किशोर साह, बाराको प्रसौनी गाउँपालिका–२ निवासी २४ वर्षीय कुनिल पण्डित कुम्हार र भारतको पश्चिम बंगाल हुक्ली निवासी २६ वर्षीया साबनि दास रहेका छन्।

त्यस्तै, मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ निवासी २४ वर्षीय सरोज गुभाजु पनि घाइते भएका छन्।

घाइते सबैको अवस्था सामान्य रहेको बाराका प्रवक्ता मीन बहादुर घलेले जानकारी दिएका छन् । उनका अनुसार उनीहरूको अमलेखगञ्जस्थित अक्कलबहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।

दुर्घटनापछि ईभी हाइस सडकबाट हटाउन नसकिएपछि केही समय सडक एकतर्फी रूपमा सञ्चालन गरिएको थियो। प्रहरीका अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सडकमा दुवैतर्फी यातायात सञ्चालनमा आएको थियो।

दुर्घटनामा संलग्न ट्याङ्कर, ईभी हाइस र मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको प्रवक्ता घलेले जानकारी दिए ।

यसैबीच, बारा प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न, तीव्र गति नियन्त्रण गर्न तथा सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ।

Leave a review