सिमरा बजारमा बनाईएका अनाधिकृत संरचनामाथि चल्ने भयो डोजर

रञ्जन यादव
345 पाठक संख्या

बाराको सिमरा बजारमा बनाईएका अनाधिकृत संरचनामाथि जीतपुरसिमरा उपमहानगरपालिकाले शनिबारदेखि डोजर चलाउने भएको छ ।

उपमहानगरपालिकाले उक्त घरटहरा आफै खाली गर्नका लागि शुक्रबार अन्तिम पटक सूचना जारी गरेकोमात्यो समयभित्र कसैले पनि आफनो भौतिक संरचना नहटाएकोले उपमहानगरपालिकाले डोजर एक्सनको तयारी गरेको हो ।

मुख्य चोकबाट पश्चिमतर्फ रहेको बजार क्षेत्रमा सूचना टाँस र माईकिङ गर्दै उपमहानगरपालिकाले घरटहरा र सामान हटाउन समय दिएको थियो । अन्तिम पटकको सूचनामा पनि घरटहरा नहटाइए बल प्रयोग गरेर हटाईने चेतावनी समेत उपमहानगरपालिकाले दिएको छ ।

उपमहानगरपालिकाले वडा नं. २ स्थित साविकको पिप्रा सिमरा गाविसको नाममा श्रेस्ता कायम रहेको कित्ता नं. ८१६, ८३१ र ८३२ मा बनेको अस्थायी घरटहरा हटाउन लागेको हो । उक्त जग्गामा स्थानीयले घरटहरा निर्माण गरेर खाजा,नास्ताको होटल संचालन गर्दै आएका छन् ।

सरकारी जग्गामा बनेको उक्त अनधिकृत संरचना हटाउन उपमहानगरपालिकाले पटकपटक सूचना जारी गर्दै आएको छ । स्थानीय व्यवसायीले उक्त निर्णयविरुद्ध उच्च अदालत वीरगन्जमा रिट दाय गरेका थिए ।

स्थानीय व्यवसायीले दायर गरेको उक्त रिट अदालतले खारेज गरिदिएपछि उपमहानगरपालिकालाई घरटहरा हटाउन कानुनी बाटो खुलेको हो ।

उपमहानगरपालिकाले शनिबार बिहानदेखि उक्त क्षेत्रमा रहेका संरचनाहरु भत्काई खाली गराउने नगर प्रमुख राजन पौडेलले साझेदारी दैनिकलाई बताए । जीतपुरसिमरा उपमहानगरपालिकाले सिमराको मुख्य बजारमा रहेको घरटहरा हटाएर व्यवस्थित सपिङ कम्प्लेक्स बनाउने योजना गरेको छ ।

नगर विकास कोषको लगानीमा उपमहानगरपालिकाले वडा कार्यालय सहितको कम्प्लेक्स बनाउने छ । यसभन्दा अगाडि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.७ जीतपुर र वडा नं.१२ फत्तेपुरमा डोजर लगाएर अबैध संरचना भत्काएको थियो ।

Leave a review

This will close in 0 seconds