‘पप्पु’ १७ औ पटकमा बने जनपद प्रहरीको ‘इन्स्पेक्टर’

साझेदारी दैनिक
863 पाठक संख्या

असफलताबाट हरेश खानु हुदैन । प्रयास निरन्तर गरे सफलता प्राप्त गर्न सकिन्छ । यो भनाई होइन् । यसलाई जीवनमा पर्सा जिल्लाका एक नागरिकले उतारेका छन् ।

धैर्यता र लगनशीलता दृढ अठोटका साथ सङ्कल्प गरे तथा प्रयास गरे लक्ष्य हासिल गर्न असम्भव हुँदैन । एक सामान्य परिवारका युवा वीरगंज महानगरपालिका वडा नं. २१ ताजपुरका पप्पु कुमार दास कहिले निराश भएनन् ।

उनले लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल (फेल) भएर पनि उनले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्ने चाहना पुरा गरेका छन् ।

किसान बुवा जादोलाल दास र आमा हरिमती देवीको दाम्पत्य जीवनबाट २०५२ साल वैशाख २ गते सामान्य परिवारमा ‘‘पप्पु’ जन्मेका हुन् । उनलाई गरिबीले निम्त्याएको अनेकौँ दुःख र कष्टको सामना गर्नु परेको थियो ।

पाँच कट्ठा मात्र खेत रहेको सो परिवारले खनजोत गर्दा पनि वर्ष भरी दैनिकी चलाउन समस्या परेको थियो । यसपछि निजको बुवाले गाउँ नजिकै परवानीपुर बजार स्थित एउटा घुम्तीमा सानो पान पसल खोले ।

गरिबी अवस्थामा सानो पान पसलको व्यवसायबाट अनेकौँ दुःख कष्ट गरेर जोहो गरी पढाइमा गरेको लगानीलाई खेर नफाल्दै उनका जेठो छोरा राजेश दास सङ्घीय सरकारको शाखा अधिकृत भए ।

जेठी बुहारी शारदा कुमारी दास प्राथमिक तहको स्थायी शिक्षिका बनिन् । कान्छो छोरा पप्पु कुमार दास जनपदको प्रहरी निरीक्षक(इन्स्पेक्टर) बन्न सफल भएका छन् ।

श्री भोज भगत उच्च माध्यमिक विद्यालय लिपनी माल बाराबाट २०६६ सालमा एस.एल.सी उनले उत्तीर्ण गरेका हुन् । प्रहरी निरीक्षक पप्पु कुमार दास १०+२ तहको अध्ययनका लागि वीरगंजस्थित रहेको हरि खेतान बहुमुखी क्याम्पसमा अङ्ग्रेजी विषय लिएर पठनपाठन सुरु गरे । त्यहाँबाट २०६९ सालमा १०+२ तह पास गरे ।

सोही क्याम्पसबाट २०७२ सालमा शिक्षा सङ्कायबाट अङ्ग्रेजी विषयमा स्नातक तहसम्मको अध्ययन उनले पुरा गरे । बि.एड. (स्नातक तह) अध्ययनकै क्रममा २०७० सालमा सशस्त्र प्रहरी जवान पदको परीक्षामा उचाई अनुसार तौल नपुगेर पहिलो पटक लोक सेवा आयोगको परीक्षामा असफल भए ।

सोही वर्ष नेपाली सेना सैन्य पदको लागि भाग लिँदा ३.२ किलोमिटरको दौड प्रतियोगितामा पनि असफल भए ।

गरिबीको मारमा दैनिकी गुजारिरहेको बेला लोक सेवा आयोगको आवेदन भर्न र परीक्षामा भाग लिनका लागि चाहिने खर्च जुटाउन सोही वर्ष भएको संविधान सभाको चुनावका लागि खुलेको म्यादी प्रहरीमा उनले आवेदन दिए । उतिबेला म्यादी प्रहरीको परीक्षामा समेत फेल भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु कुमार दास बताउँछन् ।

२०७१ सालमा नेपाल विद्युत प्राधिकरण सिनियर मिटर रिडर, शिक्षक सेवा आयोगको निम्न माध्यमिक तह तथा नायब सुब्बा पदको लिखित परीक्षामा पनि उनी अनुत्तीर्ण (फेल) भए । सोही वर्ष प्रहरी जवान र प्रहरी सहायक निरीक्षक पदको मेडिकल परीक्षामा उनी असफल भए ।

पप्पु २०७२ सालमा नेपाली सेना सैन्य पदमा पहिलो पटक नाम निकालेर सिफारिस भई सफलता पाए । तर नाम निस्किदा अब ठुलो पदमा पनि सजिलै सफलता पाउन सकिने आँट गरिसकेका पप्पु नेपाली सेनाको सैन्य पदको सिफारिस हुँदा पनि गएनन् ।

लोक सेवा आयोगको तयारी सुरु गरेको तेस्रो वर्ष २०७३ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा नाम निकाल्न उनी सफल भए । सेना पद छोडेर असई बनेका पप्पुलाई प्रहरी अधिकृत बन्ने चाहना पलायो ।

सोही वर्ष आफूले प्रहरी निरीक्षक पदका लागि फारम भरे, तर परीक्षामा सहभागी हुन पाएनन् । ड्युटिसंगसंगै प्रहरी अधिकृत बन्ने चाहनाले सहायक प्रहरी निरीक्षक भएको बेलादेखी निरन्तर पाँच वर्षको मेहनतले अन्ततः २०७९ साल सबै चरणको परीक्षा उत्तीर्ण गर्दै नेपाल प्रहरी अन्तर्गत प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्न सफल भए ।

लोक सेवा परीक्षाको तयारी गर्दै नौ वर्षको अवधिमा १६ पटक परीक्षामा असफल (फेल) भएका पप्पु दास अहिले उदाहरण बनेका छन् । अहिले उनी प्रहरी निरीक्षक बनेर नेपाल प्रहरी विशेष सुरक्षा, गण रातामाटे हेटौँडामा कार्यरत छन् ।

Leave a review