ऋण तिर्दा पनि सहकारीले गरेन जग्गा फिर्ता

रञ्जन यादव
315 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको एक सहकारीले ऋण तिर्दा पनि शेयर सदस्यको जग्गा फिर्ता नगरेको खुलाशा भएको छ ।

उपमहानगरपालिका वडा नं.५ मा रहेको समिश्रण कृषि सहकारी संस्था,बकुलियाले यस्तो गरेको पाइएको हो । उसले १४ लाख रुपैयाँ लिएको ऋण चुक्ता गर्दा पनि सहकारीले धितो राखेको जग्गा फुकुवा नगरेको पीडित शेयर सदस्य मुक्ति धामीले जानकारी दिए ।

उनले ऋण चुक्ता गरेको सात महिना पुग्न लाग्दा पनि सहकारीले जग्गा फुकुवा नगरेको उनले दुखेसो गरे । सम्मिश्रणले आफ्नो कित्ता नं.३७६ को जग्गा १३ कठ्ठा दुई धुर राष्ट्रिय सहकारी बैँक सिमरामा धितो राखेर ऋण लिएको बताए । सहकारीले जग्गा फुकुवा नगर्दा आफनो जग्गा बिक्रि वितरण गर्न नसकेको उनको गुनासो थियो ।

यता सम्मिश्रण कृषि सहकारी संस्थाका प्रबन्धक तथा सचिव रमेश चौधरीले सञ्चालक सदस्यहरुको सहमतिमै आ आफनो जग्गा राष्ट्रिय सहकारी बैँकमा धितो राखि संस्थाको नाममा ऋण लिएको बताए । उनले ऋण लिएका मुक्ति धामीकी श्रीमती मनोरमा चौधरी सहकारीको त्यो बेला कोषाध्यक्ष रहेको जानकारी दिए ।

सहकारीको नाममा दुई करोड १० लाख रुपैया ऋण सहकारी बैँकबाट लिएको बताए । सहकारीले लिएको ऋण मध्ये करिब १५ लाख रुपैयाँ बाँकी भएका कारण सहकारी बैँकले जग्गा फकुवा गर्न नमानेको प्रबन्धक चौधरी जानकारी दिए ।

सहकारीको नाममा रहेको ऋण तिर्ने बित्तिकै आफुहरुले उनको जग्गा फिर्ता गर्ने उनको भनाई थियो । कहिले सम्ममा जग्गा फुकुवा गर्ने बिषयमा मिति भने उनले बताएनन् ।

बारम्बार सहकारी पक्ष र पीडित पक्षलाई वडामै बैठक बोलाई समस्या समाधानको प्रयास गरेकोमा अहिले सम्म समस्याको समाधान नभएको वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी जानकारी दिए । जेठ १५ मै सम्मिश्रण कृषि सहकारीका प्रतिनिधिहरुले धितो जग्गा फुकुवा गर्ने सहमति गरेका थिए ।

तर जेठ १५ मा फुकुवा गर्न नसक्दा असार १५ को समय लिएको वडा अध्यक्ष चौधरीले बताए । यता जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी तथा पर्यटन प्रबद्र्धन शाखा प्रमुख सुधन चौधरीले आफुलाई यस बिषयमा जानकारी नभएको जनाए ।

पीडितले आफु कहाँ यस बिषयमा लिखित निबेदन दिएको खण्डमा आवश्यक कानुनी कार्बाही अगाडि बढाउँने जानकारी दिए ।

Leave a review

This will close in 0 seconds