कृष्ण प्रणामी मन्दिरको उद्घाटन अवसरमा सात दिन मासु र मदिरा निषेध

साझेदारी डेलि
262 पाठक संख्या

जीतपुर । धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई मर्यादित र व्यवस्थित बनाउन बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित श्रीकृष्ण प्रणामी मन्दिर आसपासको क्षेत्रमा एक सातासम्म मासु तथा मदिराजन्य कारोबार र सेवनमा रोक लगाइने भएको छ ।

मन्दिरको समुद्घाटन तथा १२५ तारतम सागर पाठपारायण सहित अन्तर्राष्टिय धार्मिक महोेत्सवको आयोजना हुने भएपछि वडा कार्यालयले मन्दिर वरपर ५०० मिटर क्षेत्रभित्र मासुजन्य कारोबार र मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवन नगर्न सार्वजनिक आग्रह गरेको हो ।

वडा कार्यालय औराहाले विहीबार जारी गरेको सूचनाअनुसार आगामी मंसिर १० गतेदेखि १६ गतेसम्म मन्दिरमा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सोही अवधिमा धार्मिक वातावरणको पवित्रता कायम राख्न र कार्यक्रमलाई शान्तिपूर्ण तथा मर्यादित रूपमा सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा मन्दिर आसपासको क्षेत्रलाई समेटेर चार किल्लासमेत निर्धारण गरिएको छ । पूर्वतर्फ सिमरा विशेष आर्थिक क्षेत्रको प्रवेशद्वारबाट पश्चिमतर्फ, पश्चिममा बाहुनी खोलादेखि पूर्वतर्फ, दक्षिणमा शिव मन्दिरको उत्तरतर्फ र उत्तरमा प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिदेखि दक्षिणतर्फको क्षेत्रलाई निषेधित क्षेत्रका रूपमा समेटिएको छ ।

वडा अध्यक्ष भोजबहादुर खत्रीद्वारा जारी सूचनामार्फत उक्त क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, व्यवसायी, स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई निर्धारित अवधिभर नियम पालना गर्न अनुरोध गरिएको छ ।

धार्मिक अनुष्ठानका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै स्थानीय समुदायको सहयोगमा कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउने उद्देश्यले सूचना जारी गरिएको वडा कार्यालयले जनाएको छ ।

Leave a review