रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

साझेदारी दैनिक
564 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजनामा सोमवार गरुडा नगरपालिका–५ महम्मदपुर स्थित रहेको गोपाल सेवा समिति धर्मशालामा आयोजित पार्टीको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले,नेकपा एकिकृत समावादी,नेकपा माओवादी लगाएत दलबाट सयौंको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरु अधिकांश जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरु रहेका छन । केही कारणले गर्दा पार्टीबाट असन्तुस्ट भइ अन्य पार्टीमा गएका उनिहरु फेरी आफनै पुरानो घर जसपा नेपालमा फर्केका हुन ।

कार्यक्रममा माधवनारायण नगरपालिका–२ खेसरहियाका पूर्व वडा अध्यक्ष हनुमान सहनी,माधवनारायण नगरपालिका–६ माधोपुरका वडा अध्यक्षका प्रत्यासी हरिनारायण प्रसाद यादव,नेता चन्देश्वर साह तेली,दुर्गा भगवती गाउँपालिका–२ भलोहियाका वडा अध्यक्षका प्रत्यासी रमेश महतो,माधवनारायण नगरपालिका–३ भेल्हीका रामइश्वर यादव सहितका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीले टिका र माला लगाएर उनिहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

उपाध्यक्ष चौधरीको हातबाट टिका माला लगाएर ठुलो संख्यामा राजनीतिमा राम्रो पकड र जनमत भएका नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिए ।

पार्टी छाडेर गएका नेता कार्यकर्ताहरु पुनः आफना पुरानै घरमा आएपछि रौतहटमा जनता समाजवादी पार्टी नेपाल अझै बलियो र मजबुत भएको पार्टीका जिल्ला सह–इन्चार्ज एवं युवा क्रान्तिकारी नेता राजकुमार दासले बताए ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार चार महिने जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आफुहरुले विभिन्न नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएर संगठन निर्माण र पार्टीलाई बलियो बनाउने अभियानमा जुटिसकेको नेता दासले बताए ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष गोविन्द चौधरीले मिसन २०८४ लाई ध्यानमा राख्दै पार्टीलाई अझै मजबुत र बलियो बनाउने कार्यमा अहिलेदेखी नै लाग्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

त्यस्तै जसपा नेपालका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादवले मधेश र मधेशी जनताको अधिकार तथा पहिचान दिलाउने एक मात्र पार्टी जसपा नेपाल मात्र रहेको बताउँदै जसपा नेपालमा सबैजनालाई लाग्न आग्रह गरेका थिए ।

ठुला ठुला दलहरु मधेशी जनताको भोट मात्र ठग्ने गरेको र अधिकार दिन नचाहेकोले आउँदो निर्वाचनमा मधेशी जनताको अधिकार विरोधी पार्टीहरुलाई पराजित गर्नुपर्ने धारणा नेता यादवले राखेका हुन ।

जसपा नेपालका उपाध्यक्ष गोविन्द चौधरीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष श्याम विहारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य किशोरी यादव,विश्वनाथ पटेल,मधेश प्रदेशकी रास्ट्रिय सभा सदस्य पुजा चौधरी, प्रदेश सांसद सोभा देवी साह,पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव,केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व खानेपानी राज्य मन्त्री अब्बुल कलाम आजाद भन्ने शेख फुलबाबु,केन्द्रिय सदस्य किरण ठाकुर लगाएतका नेताहरु आ–आफना धारणा राख्दै पार्टी संगठनलाई मजबुत बनाउने कार्यमा जोड दिएका थिए ।

Leave a review

This will close in 0 seconds