गढिमाई मेला र पशुबलि कमिका कारण

साझेदारी दैनिक
670 पाठक संख्या

विश्वकै ध्यान आकर्षण गरेको पाँच बर्षमा एकपटक लाग्ने गढिमाई मेला २०८१ समापन हुँदैछ । विगत बर्षमा जस्तै यो मेलाको रौनक यसपाला पनि उस्तै अनुभव गर्न सकिन्छ । विगतका पछिल्ला मेलादेखि गढिमाईमा हुने पशुबलिको बारेमा विश्व स्तरमा नै पशुहक अधिकारका कुरा लिएर विरोधका आवाजहरु सुनिन थालेका छन् ।

गएको मेलामा सचेतक र बलिको विरोध गर्नेहरु शुरु देखि नै मेला अवधिभर निकै सक्रिय रहेको पाइएको थियो । यसपाला भने कतिपय एनजीओहरुको प्रभावमा स्थानिय स्तरमा रकम बाँडेको र उनिहरुलाई प्रयोग गरि पशुबलिको विरोध गर्न लगाएको भन्दै मेला समितिले पशुबलिको बारेमा नकारात्मक प्रचार प्रसार गर्न रोक लगायो ।

एनजीओहरुसँग सहकार्य गरि पशुबलिको विरोध गरेको भन्दै पुर्व सभासद कलावती पासवानलाई मेला अवधिभर मन्दिर प्रवेशमा रोक लगाउने निर्णय समेत गरियो । यो समाचारसँगै अहिंसा र पशुबलिको बारेमा जनचेतना जगाउने कार्यमा संलग्न धार्मिक र सामाजिक संघ संस्थालाई समेत रोक लगाउने निर्णय गरियो ।

तथापि विभिन्न संघसंस्थाका सचेतकहरुले स्थानीय समुदायमा र विशेष गरि गढिमाईलाई लक्षित गरेर भारतबाट अवैध रुपमा नेपाल तर्फ प्रवेश हुने पशुपन्छीको रोकावटका लागि सिमावर्ती क्षेत्रमा स्वयंसेवा गरेको पाइयो ।

मेला समितिले मन्दिर निर्माणको लागि यसपसलाको मेलामा एक पाडाको ८००० एक बोकाको ४००० र परेवाको ३०० तोकेर रकम आव्हान गरेको भन्ने सुनेको भएपनि सो सँग सम्बन्धित कुनै सुचना प्रकाशित भएको देखिएन । यहि मंसिर २३ गते पञ्चबलिसँगै शुरु भएको पाडाको बलि समिति र जानकारका अनुसार विगतमा भन्दा कम भएको सुचना प्राप्त भएको छ ।

यसको प्रमुख कारण भारतबाट पशुबलिलाई लागि आउने जनावरहरुको सिमावर्ती क्षेत्रमा नै भारतिय पक्षले रोकेको आरोप समितिले लगाएको छ । जे जस्तो भएपनि समय परिवर्तनसँगै केहि हदसम्मको जन चेतना र भारतिय चासोको कारण पशुबलि कम भने अवश्य भएको मान्न सकिन्छ ।

श्रीकृष्ण समाज र यससँगै सम्बद्ध समितिहरूको सक्रियतामा विध्यालय कलेज र स्थानिय समुदायहरुमा डकुमेन्ट्री सिनेमाको माध्यमबाट हिंसा,आहार र पर्यावरण बिचको तादम्यता सहित विज्ञान सम्बत तर्क र तथ्याङ्कका आधारमा लामो समयदेखि जागरण फैलाउने सेवा भैरहेको छ ।

प्रणामी समाजका शाकाहारी एवम् अहिंसा सचेत अभियन्ता प्रणामी युवा परिषदका पूर्व अध्यक्ष मातृका प्याकुरेलको सक्रियतामा बिशेष गढिमाई क्षेत्रमा युवा परिषद्का जिल्ला अध्यक्ष मोहन सापकोटा,उपाध्यक्ष सन्तोष पाण्डे लगायतको समन्वयमा यो अभियान नेपाल शाकाहारी संघ,अहिंसा प्रेमी शाकाहारी समाज,ओशो धारा केन्द्र,कविर समाज र विभिन्न ब्यक्तिहरुसँगको सहकार्य गर्ने क्रममा लामो समयदेखि भारतिय जैन समुदाय समस्त महाजन,मुम्बई र अहमदाबाद निवासी प्राणी कल्याण सेवक सामाजिक ब्यक्तित्व कपिल ठक्करको समेतको संलग्नता रहँदै आएको छ ।

नेपाल सर्वोच्च अदालतको गढिमाईको विषयलाई लिएर २०७३ श्रावण २० गते जारी भएको निर्देशनात्मक आदेशको नेपालना खासै प्रभावकारी देखिएन तथापी समस्त महाजन,मुम्बईका प्रभारी गिरिष भाइ शाहको सक्रियतामा पशु कल्याण विभागले जारी गरेको पत्र र सम्वन्धित निकायले उक्त पत्रको आधारमा नेपाल भारत सिमावर्ती क्षेत्रबाट गराइने पशुहरुको नेपाल प्रवेशमा लगाइएको रोक यसपालाको पशुबलि कम हुनाको एक प्रमुख कारण मान्न सकिन्छ ।

सिमावर्ती क्षेत्रमा अवैध पशु आयात रोक्न भारतिय समाजसेवी एबम् समस्त महाजनका प्रतिनिधि हिरालाल जैनका साथ प्रणामी समाज,ओशो धारा केन्द्र लगायतका प्रतिनिधिहरु पनि भारतको दरभंगा देखि मुजफ्फरपुर,सितामढी र रक्सौल सम्म पुगेर गढिमाई मेलामा भारत तर्फबाट अवैध निकासी हुने चौपायाको निगरानीमा खास ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।

मेला पुर्व बिशेष चारदिन देखि नेपाल र भारतिय सिमावर्ती क्षेत्रबाट हुने अवैध पशु निकासी रोक्नको लागि समस्त महाजन,मुम्बई,प्रणामी समाज,नेपाल शाकाहारी संघ,ओशो धारा केन्द्रका स्वयंसेवकहरुको सक्रिय अनुगमन रहेको थियो ।

समग्रमा मानव जीवन र पर्यावरणसँग समेत जोडिएको बिषयलाई लिएर सर्वोच्च अदालतले जारी गरेको परमादेशको पालनाको कुरा मात्र नभई यो अभियानले धर्म संस्कृति अनि परम्पराको मर्म अनादर गर्नु पटक्कै भन्दैन,तर मानविय समवेदनाको आधारमा यसको आलोचनात्मक विश्लेषण गरि दया,करुणा र अहिंसाको भावलाई बढावा दिंदै गढिमाईमा हुने पशुहरुको विभत्स हिंसाको बिकल्प खोजिनुपर्छ भन्ने हो । जय गढिमाई ।

लेखक : मातृका प्याकुरेल

Leave a review

This will close in 0 seconds