रौतहट : करण कुमार मिश्र/ केही दिन यता बढ्दो शीतलहर तथा चिसोलाई दृष्टिगत गरी रौतहटका अधिकांश पालिकाहरुले विद्यार्थीलाई चिसोबाट जोगाउन बिदा दिन थालेको छ।
बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ। चिसो छल्न वर्षे बिदामा कटौती हुने गरी रौतहटका पालिकाहरुले मंगलबारदेखि शुक्रबारसम्म चार दिन विद्यालय बन्द गरेका छन्।
बाक्लो शीत झर्नुका साथै चिसो बढेपछि कटहरिया,चन्द्रपुर,गौर,इशनाथ फतुवा विजयपुर,बौधिमाई नगरपालिका र यमुनामाई लगायतका पालिकाले एक सूचना जारी गर्दै शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
चिसोका कारण विद्यालयमा अध्ययन,अध्यापन गर्न कठिनाइ भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिईएको पालिकाले जारी गरेको सूचनामा लेखिएको छ । विद्यालयमा विद्यार्थी न्यून मात्रामा आउन थालेपछि विद्यालयको पठन पाठनमा समस्या भएको भन्दै बिदा दिइएको हो।
चिसोले जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसो बढेपछि सर्वसाधारण बजार,चोक चौराहामा मान्छेको चहलपहल कम देखिएको छ । चिसोका कारण रुघाखोकी,ज्वरो,झाडापखाला लगायतका स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ।


