वीरगञ्ज : मानव बेचबिखन कसूरमा सलंग्न रहेको आरोपमा वीरगञ्जबाट पक्राउ परेका एक महिला सहित चार जनालाई पुर्पक्षको लागि कारागार चलान भएका छन्।
कारागार चलान हुनेहरूमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ का गिनीलाल गुप्ता,भारत विहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नं.६ का जय प्रकाश साह,महोत्तरी भंगहा नगरपालिका–२ टिकुलियाका सुक्राति चौधरी र बारा जितपुर सिमरा उपमहानगरपालिका–१४ कि मिरा कुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
माघ १७ गते र फाल्गुन १ गते वीरगञ्ज महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका बिभिन्न होटलहरूमा जाँच गर्ने क्रममा उनीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेकाहरुले राम्रो आम्दानी हुने प्रलोभनमा पारी होटलमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराउने गरेको प्रहरीको भनाइ छ।
चारै जनालाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान पश्चात अदालतमा पेश गरिएको थियो।
अदालतको आदेशले बितेको १२ गते दुइ जना र २२ गतेको आदेशले दुइ जना गरी चार जनालाई पुर्पक्षको लागि वीरगञ्ज कारागार कार्यालयमा पठाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले साझेदारी दैनिकलाई जानकारी दिए।

