बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

साझेदारी डेलि
388 पाठक संख्या

कलैया । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरमा सवार उनकी श्रीमती घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत उक्त स्थानमा बिहीबार दिउँसो करिब १२ः०५ बजे वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा.०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ निवासी करिब ६० वर्षीय निरबहादुर वाइबाको शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुर्‍याइएका वाइबालाई चिकित्सकले दिउँसो १ः२१ बजे मृत घोषणा गरेका थिए । उनको शव सोही अस्पतालमा रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् ।

उनका अनुसार स्कुटरको पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ । उनको हेटौँडा अस्पताल, मकवानपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रवक्ता घलेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनापछि प्रहरी चौकी अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश खत्रीको कमाण्डमा चार जनाको टोली घटनास्थलमा खटिएको थियो ।

ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा निवासी करिब ५० वर्षीय रमेश प्रसाईँ रहेका छन् । दुर्घटनामा संलग्न ईभी र स्कुटरलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

Leave a review