गणेश मन्दिरबाट दानपेटिकासहित घण्टी र कलश चोरी

साझेदारी डेलि
266 पाठक संख्या

डुमरवाना । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ स्थित प्रगतिशील टोलमा रहेको सिद्धिबिनायक गणेश मन्दिरमा चोरी भएको छ। अज्ञात समूहले गएराति मन्दिरको मूल ढोकाको ताला तोडेर दानपेटिकामा रहेको नगदसहित घण्टी र कलश चोरी गरेको हो।

बुधबार बिहान मन्दिरको मूल ढोकाको ताला फुटेको अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि मन्दिरभित्र जाँच गर्दा दानपेटिका फुटाइएको र त्यहाँ राखिएको रकम तथा पूजाआजामा प्रयोग हुने घण्टी र कलशसमेत हराएको पाइएको स्थानीयले बताएका छन्।

दानपेटिकामा कति रकम जम्मा भएको थियो भन्ने यकिन हुन सकेको छैन। नियमित पूजाआजा हुँदै आएको मन्दिरमा चोरी भएपछि स्थानीयवासी चिन्तित बनेका छन्।

मन्दिरजस्तो धार्मिक स्थललाई निशाना बनाएर चोरी गर्ने व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्नको खोजी तथा चोरी भएका सामग्रीको अवस्थाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Leave a review