बकैया नागमणी सामुदायिक वनको निर्वाचन अन्यौलमा

साझेदारी दैनिक
427 पाठक संख्या

निजगढ : उमेश घलान/ बारा निजगढ –८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनको लागि तोकिएको निर्वाचन अन्यौलमा परेको छ । उम्मेदवारी दर्ताको क्रममा उत्पन्न विवादका कारण रोकिएको उक्त वन उपभोक्ता समितिको निर्वाचन अन्यौन बनेको हो ।

बैशाख २७ गतेको लागि तोकिएको निर्वाचन उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि स्थगित भएको थियो । उम्मेदवारहरुले मनोनयन पत्र दर्ता निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली भने सार्वजनिक गर्न नसकेपछि समितिले निर्वाचन नै स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यतिबेला उपभोक्ता र सरोकारवालाहरुबीच आवश्यक छलफल गरेर निर्वाचन प्रक्रिया अघि बढाउने जनाएको निर्वाचन समितिले २ साता बितिसक्दा पनि अर्को निर्वाचन कार्यक्रम सार्वजनिक गर्न नसकेको हो ।

स्रोतको अनुसार निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा विवाद भएको र त्यसपछि निर्वाचन संयोजक तामागढी सबडिभिजन वन कार्यालयका प्रुमख सुरेश भगतको सरुवा भएकोले निर्वाचन कार्यक्रम बारे छलफल गर्न नसकिएको जनाए ।

वन समूहको नयाँ कार्यसमितिमा नेकपा एमाले, माओवादी र जनमत पार्टीको संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार पवित्रा चौलागाई र लेखा समितिका संयोजक प्रकाश श्रेष्ठको मनोनयन पत्र दर्तालाई लिएर नेपाली कांग्रेस समर्थक उपभोक्ताहरुले विरोध गरेपछि निर्वाचन समितिले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न नसकेको हो ।

निर्वाचन समितिमा ढिला गरेर सम्पर्क गर्न आएको भन्दै चौलागाई र श्रेष्ठको उम्मेदवारी रद्द गर्न माग गर्दै कांग्रेस समर्थक उपभोक्ताहरुले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्न अवरोध गरेका थिए ।

वन समूहको नयाँ कार्यसमिति चयनको लागि नेकपा एमाले,माओवादी र जनमत पार्टीले एमालेका रामप्रसाद ओझाको नेतृत्वमा संयुक्त प्यानल बनाएर मनोनय पत्र दर्ता गरेका छन भने नेपाली कांग्रेसले कमल बजगाई नेतृत्वको प्यानल अघि सारेको छ ।

Leave a review

This will close in 0 seconds