नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णयः जेनजी आन्दोलनका घाइतेलाई मनोपरामर्श सेवा

रासस
302 पाठक संख्या

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । उहाँले पदभार ग्रहण जेनजी आन्दोलनमा घाइते भएकालाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

पदभारपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको आन्दोलन थियो । त्यसैले कहिँ कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् ।”

नवनियुक्त मन्त्री शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनमा सहिद भएका परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने तथा यसका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेट निकासा गरिने बताउनुभयो ।

मन्त्री शर्माले यो नागरिक सरकार भएको र यसले कामको मूल्याङ्कन मात्र गर्ने बताउनुभयो । उहाँले पारिश्रमिकको विषयमा आन्दोलनरत नर्सका समस्या समाधान गर्न पहल थाल्ने बताउनुभयो । स्वास्थ्य सचिवको रूपमा काम गरिसक्नुभएकी नवनियुक्त मन्त्री शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञका साथै जनस्वास्थ्य विज्ञ पनि हुनुहुन्छ ।

Leave a review

This will close in 0 seconds