खल्ती एपका निर्देशक इन्जिनियर साह अगामी निर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिने

साझेदारी दैनिक
299 पाठक संख्या

कलैया : उज्यालो नेपाल पार्टीका केन्द्रीय समिति सदस्य एवम् खल्तीका निर्देशक इन्जिनियर अरविन्द साहले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी भएका छन ।

उनले बाराको सिमरा विमानस्थलमा शनिबार पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका हुन् । साह चर्चित डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ का निर्देशक समेत हुन् ।

साहले उज्यालो नेपाल पार्टी भदौ २३–२४ मा भएको ‘जेन–जी आन्दोलन’ को भावनाबाट जन्मिएको पार्टी भएको स्मरण गराउँदै सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल नारा बनाएको बताए । उनले आन्दोलनमा सहादत प्राप्त गर्ने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विधिको शासन र दिगो विकासलाई पार्टीको आधार स्तम्भ बनाइएको स्पष्ट पारे ।

आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य सुनाउँदै साहले भने, “मैले ‘खल्ती’ मार्फत हजारौँ नेपालीलाई डिजिटल सेवाको पहुँच दिएको अनुभव अब आफ्नो क्षेत्र र देशको समग्र विकासमा लगाउन चाहन्छु ।” प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भए लगत्तै बारा–२ मा उनले प्रत्येक घरमा कम्तीमा एक जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

उनले आफ्नो योजना समेत सर्वजनिक गर्दै रोजगारका लागि स्थानीय स्रोतको उपयोग, कृषिको व्यवसायीकरण, डिजिटल प्रविधिको विस्तार, लो–स्किल ट्रेनिङ सेन्टर र उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकता दिइने उनले बताए ।

त्यसैगरी भ्रष्टाचारलाई शून्य,कागज–रहित प्रशासन ,डिजिटाइज्ड सेवा प्रवाह र टेक्नोलोजी– केन्द्रित प्रणाली लागू गरिने उनको योजना छ । उनले सीमावर्ती क्षेत्रका जनताको दैनिकीलाई सहज बनाउन भारत र चीनसँगको सम्बन्धलाई थप सहज बनाउँदै ‘स्पेसल बोर्डर कार्ड’ मार्फत सुविधा दिने उनले घोषणा गरेका छन् । बोर्डर कार्डले सहज आवागमन, स्वच्छ व्यापार, उपचार,शिक्षा– रोजगारीमा पहुँच दैनिक गतिविधिमा सरलता जस्ता सुविधा उपलब्ध हुने उनको दाबी छ ।

बारा, पर्सा, रौतहट लगायतका देशका अन्य जिल्लाका सीमावर्ती जिल्लाका जनताका लागि स्पेशल बोर्डर कार्ड प्रणाली ल्याइने उनले पत्रकार सम्मेलनमा बताए । यस्तै कृषि र साना उद्योगलाई केन्द्रमा राख्दै कम लगानीमा धेरै रोजगारी सिर्जना गर्ने मोडेल, स्टार्टअप इन्कुबेसन सेन्टर, व्यावसायिक कृषि हब र कम दक्षता भएका युवाहरूका लागि तकनीकी तालिम केन्द्र स्थापना गर्ने उनको अर्को ठूलो योजना छ।

यसैगरी उनले गढीमाई मन्दिर, सिम्रौनगढ दरबार क्षेत्र र जनकपुर–जनकी मन्दिरलाई ‘स्पेसल हेरिटेज जोन’ घोषणा गरी धार्मिक पर्यटनको विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन ।

Leave a review

This will close in 0 seconds