निर्वाचन प्रहरी भर्ना खुलेसँगै रौतहटमा फारम भर्न युवाको भीड

Om Prakash Yadav
355 पाठक संख्या

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलेपछि रौतहटमा फारम भर्न युवाहरूको ठूलो लाइन लाग्न थालेको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट जिल्लामा कुल ३ हजार ८ सय ५१ जना म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यसमध्ये नेपाल प्रहरीतर्फ ३ हजार ४ सय ६६ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ ३ सय ८५ जना म्यादी प्रहरी भर्ना गरिने डीएसपी एवं सूचना अधिकारी विष्णु प्रदीप बस्यालले जानकारी दिए।

सबैलाई सहज हुने र भीडभाड नहोस् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाका चार स्थानबाट आवेदन दिने व्यवस्था मिलाएको छ। आवेदन जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट दिन सकिने व्यवस्था गरिएको डीएसपी बस्यालले बताए।

दरखास्त फाराम माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिएका सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन सकिनेछ।

निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न सक्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको छ। आतङ्ककारी तथा विध्वंसात्मक संगठनको सदस्य नरहेको हुनुपर्नेछ।

पुरुष उम्मेदवारको हकमा न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च, तौल ४२ केजी र गर्भवती नभएको हुनुपर्नेछ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाट निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, पूर्व वनरक्षक, यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीको रूपमा सन्तोषजनक काम गरेका व्यक्ति, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई छनोटमा विशेष प्राथमिकता दिइने जनाइएको छ।

माघ ४ गते सम्पर्क मिति तोकिएको छ भने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ। छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

नेपाल प्रहरीका अनुसार म्यादी प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिनको रहनेछ। सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केल बराबर पारिश्रमिक उपलब्ध गराइनेछ। साथै, खाना खर्च, तयारी खर्च र खाजा खर्चसमेत प्रदान गरिने जनाइएको छ।

Leave a review

This will close in 0 seconds