मोदी र शाहद्वारा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण डिजिटल उद्घाटन

रञ्जन यादव
78 पाठक संख्या

बारा । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको सोमबार भारतको नयाँ दिल्लीबाट संयुक्त रूपमा डिजिटल उद्घाटनसँगै बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा शिलालेख अनावरण गरिएको छ। नेपाल र भारततर्फका सरकारी अधिकारीहरूले संयुक्त रूपमा स्थलगत रुपमा शिलालेख अनावरण गरेका हुन्।

दोस्रो चरणको उद्घाटनसँगै अमलेखगञ्जस्थित नेपाल आयल निगमको पेट्रोलियम भण्डारण तथा वितरण प्रणाली थप आधुनिक र व्यवस्थित बनेको छ। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमको अमलेखगञ्ज टर्मिनललाई पुनः इन्जिनियरिङ गरी अत्याधुनिक तथा पूर्ण स्वचालित बनाएको हो।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको कुल लागत नेपाली रुपैयाँ ६६३ करोड रहेको छ। परियोजनाअन्तर्गत भारतीय आयल कर्पोरेसनले करिब १०० करोड रुपैयाँ लगानी गरी ४ हजार किलो लिटर (केएल) क्षमताको पेट्रोल ट्याङ्की, २५० केएल क्षमताका दुईवटा ट्रान्समिक्स ट्याङ्की तथा अग्नि नियन्त्रण प्रणालीको पुनःसंरचना गरेको अमलेखगंज आयल निगम प्रादेशिक कार्यालयका प्रमुख असाेक साहले जानकारी दिए ।

त्यस्तै, नेपाल आयल निगमले करिब १४६ करोड रुपैयाँ लगानीमा ४ हजार केएल क्षमताको अर्को पेट्रोल ट्याङ्की, २४ वटा स्वचालित ट्याङ्कर लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम, गुणस्तर नियन्त्रण प्रयोगशाला तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरेको छ। यससँगै अमलेखगञ्ज टर्मिनल नेपालकै पहिलो अत्याधुनिक तथा पूर्ण रूपमा स्वचालित स्मार्ट टर्मिनल बनेको उनले बताए ।

यसअघि सन् २०१९ मा भारत र नेपालका तत्कालीन प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो सीमापार पेट्रोलियम पाइपलाइन हो। दोस्रो चरणको स्तरोन्नतिपछि यस पाइपलाइनमार्फत नेपालमा डिजेल, पेट्रोल तथा मट्टीतेलको आपूर्ति थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

स्तरोन्नति गरिएको टर्मिनलमा दैनिक करिब ३०० वटा ट्याङ्कर लोड गर्न सकिने क्षमता रहेको छ। यसले पेट्रोलियम पदार्थको ढुवानी तथा वितरणमा लाग्ने समय र लागत घटाउन सहयोग पुग्नेछ।परियोजनाको प्रभावकारी सञ्चालनपछि नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन थप व्यवस्थित हुने विश्वास गरिएको छ।

परियोजना सन् २०२५ जनवरीमा सम्पन्न भएको थियो। निर्माणका क्रममा १० लाखभन्दा बढी सुरक्षित मानव-घण्टा काम सम्पन्न भएको र करिब १ लाख ५० हजार मानव-दिन बराबरको रोजगारी सिर्जना भएको जनाइएको छ। हाल टर्मिनल सञ्चालन तथा मर्मतसम्भारमा करिब १३५ जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।

त्यस्तै, डिजेल, पेट्रोल र मट्टीतेललाई सडक ट्याङ्करको सट्टा पाइपलाइनमार्फत ढुवानी गर्दा दैनिक करिब २३३ वटा ट्याङ्कर सडकबाट हट्ने र वार्षिक करिब ३४ हजार ६०० टन कार्बन उत्सर्जन कम हुने जनाइएको छ।

भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअनुरूप अघि बढाइएको यो परियोजनाले नेपालमा ऊर्जा सुरक्षा थप मजबुत बनाउनुका साथै दुई देशबीचको ऊर्जा सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave a review