‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै बारामा पत्रकारहरूको विरोध प्रदर्शन

साझेदारी डेलि
63 पाठक संख्या

बारा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकार महासंघले अघि सारेका माग पूरा गर्न दबाब दिँदै बाराका पत्रकारहरूले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित आन्दोलनका कार्यक्रमअनुसार बुधबार जिल्ला प्रशासन कार्यालय बाराअगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा पुगेका पत्रकारहरूले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’ र ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ लगायतका नारा लगाउँदै विरोध जनाएका हुन् ।

सरकारको सञ्चारमाध्यमप्रतिको व्यवहार, पत्रकारमाथि हुने आक्रमण तथा धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, लोककल्याणकारी विज्ञापनको रकम कटौती, श्रम अधिकारको उल्लङ्घन तथा सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने प्रयासविरुद्ध महासंघले देशव्यापी आन्दोलन सञ्चालन गरेको हो ।

महासंघको केन्द्रीय समितिको परिपत्रअनुसार देशभरका जिल्ला शाखाहरूले जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सञ्चालन गरेका छन् । विरोध प्रदर्शनम विभिन्न सञ्चार संस्थामा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Leave a review