करैयामाई । धिरेन्द्र पनुहर/ थारु कल्याणकारिणी सभा बारा (थाकस) को आयोजनामा हुने १० औँ थारु माघी सांस्कृतिक महोत्सव २०८२ सम्बन्धी विस्तृत जानकारी दिन सोमबार महोत्सव स्थल करैयामाई गाउँपालिका–२ इमली पर्तीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव र उपाध्यक्ष सुनैना कुमारी चौधरीको विशेष उपस्थितिमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य, कार्यक्रम तालिका तथा व्यवस्थापन पक्षबारे जानकारी गराइएको थियो।
थारु कला, संस्कृति र पहिचानको संरक्षण तथा सामाजिक विकृति–विसङ्गति न्यूनीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थाकस बारा सचिव यादव कृष्णा चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ। महोत्सव अवधिभर थारु समुदायका परम्परागत खानाका विभिन्न परिकारका स्टलहरू रहनेछन्।
यस वर्षको थारु माघी सांस्कृतिक महोत्सव सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ बजेट अनुमान गरिएको जानकारी पत्रकार सम्मेलनमार्फत दिइएको थियो।
कार्यक्रममा थाकस जिल्ला उपाध्यक्ष अनिल चौधरी, कोषाध्यक्ष बासु प्रसाद चौधरी, सदस्य संजय चौधरी, करैयामाई गाउँपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय उपाध्यक्ष लक्ष्मीकान्त प्यारेलाल चौधरी,थारु अगुवाहरू रुपलाल चौधरी, तपेश्वर राय थारु, धनिराम चौधरी, गोपाल चौधरी, अजय चौधरी, तेजनारायण चौधरीलगायत महोत्सवका विभिन्न उपसमितिका संयोजकहरूको उपस्थिति रहेको थियो।
महोत्सव पौष ३० गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ। पौष ३० गते बिहान ८ बजेदेखि खुला रक्तदान कार्यक्रम आयोजना गरिनेछ। माघ १ गते महोत्सवको औपचारिक उद्घाटनसँगै स्थानीय थारु कलाकारहरूको प्रस्तुति रहनेछ। माघ २ गते चर्चित थारु गायिका अन्जु कुश्मीको एकल गायन तथा नृत्य प्रस्तुति रहनेछ भने माघ ३ गते नवलपरासी शेरजंगको सांस्कृतिक झलक र थारु ठकरा नृत्यसहित महोत्सव समापन हुनेछ।
महोत्सवका मुख्य प्रायोजक करैयामाई गाउँपालिका र कोल्हबी नगरपालिका रहेका छन्। थाकस बारा सभापति रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव यादव कृष्णा चौधरीले गर्नुभएको थियो।

