महागढीमाई नगरपालिका : तलब निकासा ढिलाइप्रति नेपाल शिक्षक संघको ध्यानाकर्षण

साझेदारी दैनिक
321 पाठक संख्या

कलैया । तलब निकासा ढिलाइ गरेको भन्दै नेपाल शिक्षक संघ महागढीमाई नगर कार्य समिति बरियारपुरले आज महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराएको छ। संघका नगर अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव जितेन्द्र साह, केन्द्रीय प्रतिनिधि बाबुरामप्रसाद यादवलगायतको टोलीले प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रमा नेपालमा विधिको शासन कायम रहेको अवस्थामा महागढीमाई नगरपालिकाले कानुनी व्यवस्था पालना गर्ने कि नगर्ने भन्ने प्रश्न उठाइएको छ। शिक्षा मन्त्रालय तथा शिक्षा विभागले पटक–पटक सूचना जारी गर्दै शिक्षक तथा कर्मचारीहरूको मासिक तलबभत्ता नियमित रूपमा निकासा गर्न निर्देशन दिँदै आए पनि महागढीमाई नगरपालिकाको शिक्षा शाखाले ३–३ महिना बितिसक्दासमेत तलब निकासा नगर्ने गरेको आरोप लगाइएको छ।

संघले महागढीमाई नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका तथा कार्यालय सहयोगीहरूको आर्थिक वर्ष २०८१/०८२ को असार महिनाको तलबभत्ता सात महिना बितिसक्दा पनि नदिइएको विषयप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। साथै आ.व. २०८२/०८३ मा साउनदेखि हालसम्म विद्यालय कर्मचारी, बालविकास शिक्षिका र कार्यालय सहयोगीहरूको तलब वृद्धि रकम क्रमशः रु. १५००, रु. २००० र रु. २००० समेत निकासा नगरिएको उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्रमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बगडमपुरमा कार्यरत प्राथमिक तहका शिक्षक त्रिपुरारी साहको २०८२ साल वैशाखदेखि असारसम्मको तलबभत्ता नदिइएको तथा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिसहनियामा कार्यरत राहत शिक्षक रामेश्वर प्रसाद यादवको २०८२ साल वैशाखदेखि पुससम्म नौ महिनाको तलब निकासा नगरिएको कारणसमेत स्पष्ट पार्न माग गरिएको छ।

समयमै कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कर दाखिला नगर्ने विद्यालयहरूको समेत निकासा भइरहेको भन्दै त्यसतर्फ किन ध्यान नदिइएको भन्ने प्रश्न उठाइएको छ। प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका स्थायी शिक्षकहरूको वार्षिक कार्यसम्पादन मूल्यांकन फाराममा संकेत नम्बर नदिई हस्ताक्षरविना शिक्षा तथा समन्वय एकाइमा पठाइँदा शिक्षकहरू बढुवाबाट वञ्चित हुनुपरेको गुनासो पनि गरिएको छ।

दरबन्दी मिलानको बहानामा पटक–पटक सरुवा गरी शिक्षक तथा कर्मचारीलाई दुःख दिने कार्य कहिलेसम्म चल्ने हो भन्ने प्रश्न गर्दै, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढी वेनौलीमा कार्यरत अंग्रेजी विषयका शिक्षकको सरुवाले विद्यार्थीको भविष्यमा खेलवाड गरिएको आरोपसमेत लगाइएको छ।

यसैगरी २० वर्षदेखि झ्यालढोका नहुँदा र विद्यार्थी बस्ने अवस्था नबनेको श्री नाथ बात्रा आधारभूत विद्यालय, काचनपुरको भौतिक पूर्वाधार सुधारप्रति पनि तत्काल ध्यान दिन संघले माग गरेको छ। उक्त समस्याहरू यथाशीघ्र समाधान नभए संघ थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी ध्यानाकर्षण पत्रमार्फत दिइएको छ।

Leave a review