कलैया : उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ सोमबार चुनावी अभियानका लागि बारा आएका छन्। पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यले बारा आएका अध्यक्ष घिसिङ सिमरा विमानस्थल हुँदै सिमराबाट डुमरवाना पुगेका थिए।
डुमरवानामा उनले निर्वाचन परिचालन पार्टी कार्यालयको उद्घाटन गरे। त्यसपछि पार्टीका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार तीर्थबहादुर गुरुङका लागि मत माग्दै जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १५, १६, १७ र १८ का विभिन्न टोलमा पुगे।
अभियानका क्रममा अध्यक्ष घिसिङलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। उनले टोल–टोलका चौकमा बसेर मतदाताका गुनासो र सुझाव सुनेका थिए भने मतदातासँग अभिवादन गर्दै हिँडेका थिए।
घिसिङ जीतपुरसिमरा वडा नम्बर १८ को लामीडाँडा, वडा नम्बर १७ को जैतापुर र रामनगर हुँदै कोल्हवी पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै उनले अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको भन्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे।


