बारा-२ मा २९० मतदान अधिकृत तथा सहायकलाई अभिमुखीकरण

संदिप प्रसाद यादव
465 पाठक संख्या

कलैया : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप बारा निर्वाचन क्षेत्र नम्बर–२ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण प्रदान गरिएको छ।

क्षेत्र नम्बर २ को बरियारपुरस्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयमा सोमबार आयोजित दोस्रो चरणको तालिममा उक्त क्षेत्रअन्तर्गतका मतदानस्थल र मतदान केन्द्रमा खटिने २ सय ९० जना अधिकृत सहभागी भएका थिए।

तालिमका क्रममा मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका, जिम्मेवारी तथा अधिकारबारे विस्तृत जानकारी गराएका थिए। यस्तै, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेलले मतदान प्रक्रियाको व्यवस्थापन, मतदाता सहजीकरण र सम्बन्धित कानुनी प्रावधानका विषयमा सहजीकरण गरेका थिए।

जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकारी मुकेश कुमार सिंहका अनुसार मतदान अवधिभर शान्तिसुरक्षा कायम राख्ने उपाय, मतपत्र तथा मतपेटिकाको सुरक्षा व्यवस्थापनजस्ता विषयमा समेत प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा बारा क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृत शम्भु कुमार बस्नेत, क्षेत्र नम्बर–२ का किरण कुमार सिंह तथा क्षेत्र नम्बर–४ का निर्वाचन अधिकृत गम्भीर घिमिरे लगायतको उपस्थिति रहेको थियो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर–३ का लागि फागुन १२ गते मंगलबार कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा र क्षेत्र नम्बर–४ का लागि फागुन १३ गते बुधबार जीतपुरसिमरा–९ स्थित श्री नेरामावि छातापिपरामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

Leave a review

This will close in 0 seconds