बारामा ११ लाखभन्दा बढीको अवैध चकलेटसहित गाडी र चालक पक्राउ

साझेदारी डेलि
409 पाठक संख्या

कलैया । तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बिशाल सिलवालको निर्देशनमा सञ्चालन भइरहेको अभियान अन्तर्गत सिमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको प्रहरी टोलीले करिब ११ लाख ६४ हजार रुपैयाँ बराबरको गाडी र चकलेट बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) धनबहादुर रानाको नेतृत्वमा खटिएको टोलीले बारा जिल्लाको लहरी चोक क्षेत्रबाट उक्त सामानसहित चालकलाई नियन्त्रणमा लिएको छ।

बरामद गरिएकोमध्ये बोलेरो पिकअप गाडीको मूल्य करिब ९ लाख रुपैयाँ रहेको छ भने भन्सार छलि गरेर ल्याइएको चकलेटको मूल्य करिब २ लाख ६४ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त सामान अवैध रूपमा भन्सार छलि गरी नेपाल भित्र्याइएको आशंका गरिएको छ।

बरामद गरिएको गाडी तथा चकलेटलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको छ। साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा बनाउँदै यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

TAGGED:
Leave a review

This will close in 0 seconds