कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता

साझेदारी डेलि
40 पाठक संख्या

कोल्हबी । धिरेन्द्र पनुहर/ नगर खेलकुद विकास समिति कोल्हबीको आयोजनामा नगरस्तरीय लिग फुटबल प्रतियोगिता यही असोज २६ गतेदेखि सुरु हुने भएको छ।

कोल्हबी नगरपालिका–१ स्थित मठवा फिल्डमा सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका विभिन्न क्लब तथा फुटबल टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन नगर खेलकुद विकास समितिले नगरभरिका क्लबहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।

आयोजक समितिले प्रतियोगितामा सहभागी हुन इच्छुक नगरभित्रका क्लब तथा टोलीहरूले असोज २३ गतेसम्म दल दर्ता गराइसक्नुपर्ने सूचना प्रकाशित गरेको छ। तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी दर्ता भएका क्लबहरूले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्।

नगरस्तरीय लिग फुटबल प्रतियोगिताले कोल्हबी क्षेत्रमा रहेका प्रतिभावान युवा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीयस्तरमा फुटबल खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजकले नगरका सम्पूर्ण फुटबल क्लब, खेलाडी तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। साथै, प्रतियोगिता सफल बनाउन स्थानीय खेलप्रेमी, संघसंस्था तथा सरोकारवालाहरूको सहयोग आवश्यक रहेको आयोजक समितिले जनाएको छ।

Leave a review