डुमरवानामा स्वास्थ्य शिविर, तीन सयभन्दा बढीको परीक्षण

साझेदारी डेलि
13 पाठक संख्या

डुमरवाना । जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा आयोजित शिविरमा स्थानीय बासिन्दाको आयुर्वेदिक स्वास्थ्य परीक्षण, दाँत तथा मुखको जाँच र आवश्यक परामर्श दिइएको आयोजकले जनाएको छ। शिविरबाट तीन सयभन्दा बढी सर्वसाधारण लाभान्वित भएको केन्द्रका प्रमेश्वर भाइले जानकारी दिए।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी प्रमुख अतिथि तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैयाकी प्रमुख चिकित्सक डा. पुनिता केसी विशेष अतिथिका रूपमा सहभागी थिए। शिविरको अध्यक्षता ब्रह्मकुमारी ममता दिदीले गरेकी थिइन्।

स्वास्थ्य परीक्षणसँगै सहभागीलाई आयुर्वेदिक उपचार पद्धति, खानपान, जीवनशैली तथा दाँत र मुखको सरसफाइसम्बन्धी आवश्यक सुझावसमेत दिइएको थियो।

ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी सेवा र परामर्श सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सेवा केन्द्रका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता थियो।

Leave a review