रौतहट । रौतहटमा लागु औषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवम् सुधार अभियान रौतहटमा शुक्रबारदेखि सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय गौरले सदरमुकाम गौरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै अभियानको औपचारिक शुभारम्भ गरेको जानकारी दिएको हो।
जिल्लाभित्र रहेका लागुऔषध सेवनकर्ताको पहिचान अभियानमार्फत गरिनेछ। सेवनकर्ताको अवस्था अध्ययन, आवश्यक उपचार तथा पुनस्र्थापनामा अभियानले काम गर्नेछ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले अभियान अत्यावश्यक रहेको बताए। उनले यो अभियानले जिल्लामा लागुऔषध प्रयोगकर्तालाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाए। लागुऔषध दुव्र्यसन केवल कानुनी कारबाहीको विषय मात्र नभएको उनको तर्क थियो।
सामाजिक, पारिवारिक र स्वास्थ्यसँग जोडिएको गम्भीर समस्या यो हो उनले भने। यसको समाधानका लागि खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने तथ्य उनले उजागर गरे। स्थानीय तह, जनप्रतिनिधि, स्वास्थ्य संस्था, अभिभावक तथा समुदायसँग समन्वय गरेर अभियान सञ्चालन गरिने जानकारी दिए। पहिचान भएका व्यक्तिहरुलाई आवश्यक परामर्श, उपचार तथा लत छुटाउने कार्यक्रममार्फत समाजमा पुनःस्थापित गर्ने योजना अभियान अन्तर्गत रहेको उनले बताए।
लागुऔषध प्रयोगकर्तालाई अपराधीको रुपमा हेर्न नहुने उनले जनाए। सुधार आवश्यक व्यक्तिका रुपमा हेर्नुपर्ने धारणा राखे। उनीहरुलाई सही मार्गमा ल्याउन परिवार, समाज र सरोकारवाला सबै पक्षको साथ आवश्यक रहेको उनले जनाए। अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर लागुऔषध सेवनकर्ताको खोजी, तथ्यांक संकलन, सचेतना कार्यक्रम, परामर्श सेवा तथा आवश्यक परे उपचारका लागि सम्बन्धित निकायसँग समन्वय गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
रौतहटमा पछिल्लो समय युवापुस्तामा लागुऔषधको प्रयोग बढ्दै गएको पाइएको छ। यसलाई नियन्त्रण गर्न विशेष रणनीतिसहित अभियान सञ्चालन गरिएको हो। अभियान सफल बनाउन समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको प्रहरीको भनाइ छ। यो अभियानलाई केवल नियन्त्रणमा सीमित नराखी सुधार र पुनस्र्थापनासँग जोडेर अगाडि बढाउने भएकोे छ।
अभिभावक, शिक्षक, समाजसेवी तथा सर्वसाधारणलाई समेत लागुऔषधविरुद्ध सचेत रहन प्रहरीले भनेको छ। शंकास्पद गतिविधिबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

