कलैया । सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले प्राविधिक जनशक्तिलाई संगठनको “मेरुदण्ड” भएको बताएका छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयको सभा हलमा बुधबार आयोजित सातौं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“मैले चढेको गाडी समेत कुनै समस्या बिना सञ्चालन भइरहेको छ भने त्यसमा यही प्राविधिक शिक्षालयको महत्त्वपूर्ण भूमिका छ,” डिआईजी ढकालले भने। सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन क्षेत्रमा ख्याति कमाएको उल्लेख गर्दै उनले डिजास्टरमा प्रयोग हुने सामग्रीलाई दुरुस्त राख्न प्राविधिक जनशक्तिको ठूलो योगदान रहेको बताए। तर, प्राविधिक जनशक्तिले उचित सम्मान नपाएको उनको भनाइ थियो।
“प्राविधिक जनशक्ति हामीसँग २४ घण्टा साथमा हुनुपर्ने जनशक्ति हो। योबिना हामी एक पाइला पनि अगाडि बढ्न सक्दैनौं,” उनले भने, “प्राविधिक शिक्षालयले प्रत्येक पाइला–पाइलामा सहयोग गर्दै आएको छ।” डिआईजी ढकालले प्राविधिक शिक्षालय सम्पूर्ण बारावासीसहित मधेस प्रदेशकै सम्पत्ति भएको उल्लेख गर्दै नेपाल सरकारका जुनसुकै काममा यसले सहयोग गर्न सक्ने बताए। निर्माण, मर्मत तथा अन्य प्राविधिक कार्यमा शिक्षालयको सेवा उपयोग गर्न उनले आग्रह गरे।
नागरिकप्रति उत्तरदायी बन्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “नागरिकले तिरेको करबाट यो भवन बनेको हो। नागरिकप्रति उत्तरदायी हुन सकेनौं भने यो युनिफर्म लगाउनुको कुनै अर्थ छैन।” “नागरिकले गाली गर्छन्, सहन सिक्नुस्। त्यसैले यो युनिफर्म लगाएको हो,” उनले थपे।
सोहि अवसरमा डिआईजी ढकालले केक काटेर शिक्षालयको स्थापना दिवस मनाएका थिए। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक ई. रविन महर्जन, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ई. विक्रम केसी, सशस्त्र प्रहरी नायब निरीक्षक महेन्द्र बुढाथोकी, सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णकुमार शर्मा, प्राविधिक सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थराज बर्तौला, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार संगिता खत्री तथा सशस्त्र प्रहरी हवल्दार शिव नेपालीलाई नगद र प्रशंसापत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै कर्तव्य पालनका क्रममा वीरगति प्राप्त गरेका अमर सशस्त्र प्रहरी सहायक हवल्दार धनबहादुर थापाकी आमा शिवकुमारी थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सशस्त्र प्रहरी जवानहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचारी, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवँर, राजमार्ग सुरक्षा ट्राफिक कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत, सशस्त्र प्रहरी बल नं. १२ गणका गणपति विशाल सिलवाल, नं. १३ गणका गणपति मोहन क्षेत्री, नं. ४० रिजर्भ गण पिलुवाका गणपति नवदीपकुमार बस्नेत, कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका कोष नियन्त्रक सुमित पटेल, विभिन्न संघसंस्था तथा उद्योगका प्रतिनिधि, अमर सशस्त्र प्रहरीका परिवारजन, सशस्त्र प्रहरी कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्राविधिक सशस्त्र प्रहरी निरीक्षक विक्रम केसीले गरेका थिए।


