नारायणी अस्पतालका तत्कालीन मेसु ठाकुरसहितका प्रतिवादीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको सर्वोच्चमा पुनरावेदन

साझेदारी डेलि
109 पाठक संख्या

कलैया । विशेष अदालतले सफाइ दिएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संजय कुमार ठाकुरसहितका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति आयोग सन्तुष्ट नभएकाले पुनरावेदन गरिएको हो।

आयोगले नारायणी अस्पताल पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसहितका प्रतिवादीले नारायणी अस्पतालको आपत्कालीन भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत कार्य गरी अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ ७० पैसा बिगो कायम गरी सोही बराबरको कैद, जरिवाना, बिगो असुलउपर तथा प्रतिवादी ठाकुरलाई दफा २४ बमोजिम थप सजायको माग गर्दै आरोपपत्र दायर गरिएको थियो।

तर विशेष अदालतले २०८२ पुस १४ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलाप्रति असहमति जनाउँदै आयोगले असार १५ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको छ।

Leave a review

This will close in 0 seconds