काठमाडौंको शंखमुलमा होस्टलमै युवकको हत्या, कलैयाका दुई युवक पक्राउ

साझेदारी डेलि
416 पाठक संख्या

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा भएको कुटपिट तथा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार घटनामा दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका तथा सोही होस्टलमा बस्दै आएका बसन्त कालाथोकीको मृत्यु भएको हो।

कालाथोकीमाथि होस्टलमा बस्दै आएका बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कुटपिट गर्नुका साथै धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

आक्रमणमा परी टाउको र घाँटीमा गम्भीर चोट लागेका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।

घटनालगत्तै प्रहरीले यादवलाई पक्राउ गरेको थियो। फरार रहेका पटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।

पटेललाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण र संलग्नताबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन्।

Leave a review