रौतहट । चार आर्थिक वर्षदेखि रोकिएको तलब तथा भत्ता भुक्तानीको माग गर्दै रौतहटको गढीमाई नगरपालिकाका करार कर्मचारीले नगरपालिकाको कार्यालयमा धर्ना सुरु गरेका छन्। आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको पारिश्रमिक र अन्य बाँकी भत्ता उपलब्ध गराउन माग गर्दै कर्मचारीहरू कार्यालय परिसरमा भेला भएर शान्तिपूर्ण रूपमा धर्नामा बसेका हुन्।
लामो समयसम्म तलब नपाउँदा व्यक्तिगत तथा पारिवारिक खर्च व्यवस्थापनमै कठिनाइ हुन थालेको उनीहरूको भनाइ छ। नगरपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरूले आफूले नियमित रूपमा काम गरे पनि त्यसबापत पाउनुपर्ने रकम लामो समयदेखि रोकिएको बताएका छन्। बाँकी रहेको सम्पूर्ण तलब तथा भत्ता एकमुष्ट रूपमा उपलब्ध गराउन उनीहरूले नगरपालिकासँग आग्रह गरेका छन्।
आन्दोलनमा सहभागी कर्मचारीहरूले तत्काल माग सम्बोधन नभए नगरपालिका मातहतका वडा कार्यालयको सेवा प्रभावित पार्ने गरी आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्। वडा कार्यालयमा तालाबन्दी वा सेवा बन्दको अवस्था आए त्यसबाट सेवाग्राहीलाई हुने असुविधाको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने उनीहरूको भनाइ छ।
कर्मचारीहरूले आफूहरूको आन्दोलन कुनै सेवा अवरुद्ध गर्ने उद्देश्यले नभई लामो समयदेखि रोकिएको पारिश्रमिक प्राप्तिका लागि गरिएको बताएका छन्। आर्थिक कठिनाइ बढ्दै गएकाले नगरपालिकाले समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ।
माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने कर्मचारीहरूले बताएका छन्। करार कर्मचारीहरू धर्नामा बसेपछि नगरपालिकाको नियमित प्रशासनिक कामसमेत प्रभावित हुनसक्ने अवस्था देखिएको छ।


